विद्युतीय सवारी साधनमा कर छुट दिदाँ राजस्व घट्याे: अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने हेतुले कर छुट दिदाँ राजस्व घटेको बताएका छन् ।

सोमबार चालु आर्थिक वर्ष २०८०\०८१ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै महतले कर छुट दिदाँ उक्त क्षेत्रमा माग बढेकाले भन्सार आयातको ठूलो हिस्सा इन्धनमा आधारित गाडीबाट हुने गरेकोमा इभी आयात बढ्दा राजस्व बढ्न नसकेको बताएका हुन् ।

“इन्धनमा आधारित सवारी साधनहरू आयात गर्ने गरेका थियौं । ३ सय प्रतिशतसम्म कर लगाउने गरेका थियौं । अहिले विद्युतीय सवारी साधनलाई प्रामोसन गर्ने निर्णय गरौं । अब ग्रिन अर्थतन्त्रमा जाने भनेर । त्यसले गर्दा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न कर धेरै घटायौं,” उनले भने, ” विद्युतीय सवारी साधनमा धेरै ठूलो माग बढ्यो । त्यो हुनाले ठूलो महत्वपूर्ण कर इन्धनमा आधारित सवारी साधनमा आउने गरेको थियो । त्यसबाट आउने आम्दानी एकदमै कम भयो । त्यो भएर सरकारको राजश्व जति बढ्नुपर्ने थियो त्यो वृद्धि हुन सकेन ।”

महतले विभिन्न शीर्षक तथा क्षेत्रमा करछुट दिँदा लक्ष्य अनुसार राजश्व उठ्न नसकेको बताउँदै उक्त असर बजेटमा परेको बताए ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । अगामी वर्षको वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्न लागेको र सो सम्मेलनमा निजी क्षेत्र महत्वपूर्ण साझेदार रहेको उनले बताए ।