अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीकाे दाबी


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् ।

सोमवार चालु आर्थिक वर्ष २०८०\०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महतले कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्म लय समाएको बताएका हुन् ।

उनले आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताए । उनले सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको बताउँदै सूचक सकारात्मक बन्दै गएपनि सरकारको लक्ष्यअनुसार सूचक नभएको स्वीकार गरेका छन् ।

उनले भने,”अहिले ६.४७ छ मूल्यवृद्धि कम भएको छ । उपभोक्ताको पक्षबाट हेर्दा लागत कम हुन्छ । राहत पनि पुग्छ । कर्जा प्रवाहमा सबैले चिन्ता थियो । ब्याजदर उच्च थियो । आउने दिनमा कर्जा प्रवाह बढ्छ । नयाँ ऋण लिनेहरूलाई विगतको जस्तो हुने डरले कर्जा प्रवाहमा हुन सकेन ।”

उनले विगतमा बजेटमा घोषणा गरिएको दायित्व ठूलो भएकाले सरकारलाई बजेट व्यवस्थापन गर्न कठिन भएको बताए । विगतमा शेयर बजार र घर जग्गामा लगानी बढ्दा बैंकिङ क्षेत्र समस्यामा परेको उल्लेख गरे ।