दोस्रो त्रैमासमा राष्ट्र बैंकले गर्‍याे ३ विकास बैंक र ३ फाइनान्स कम्पनीहरुलाई कारबाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासमा ३ ओटा विकास बैंक र ३ ओटा फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक र र नारायणी डेभलपमेण्ट बैंकका ा अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

मुक्तिनाथ विकास बैंकका सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको हो ।

मुक्तिनाथ विकास बैंकले संस्थाबाट व्यक्तिगत तथा सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेको भनी जानकारी गराएको भएपनि नीति विपरित ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएको पाइएकोले सो सम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको उल्लेख गरेको छ ।

सप्तकोशी डेभलेपमेण्ट बैंकको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल सकिएपश्चात समेत स्वतन्त्र सञ्चालककैे हैसियतमा सञ्चालक समितिको बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित दोश्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेकोले अब त्यस्तो कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । साथै, सो कानुनी व्यवस्थासम्मत नहुने गरी दोश्रो कार्यकालका लागि नियुक्त स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई जानकारी गराउन नेपाल राष्ट्र बैंकले आदेश दिएको छ ।

यस्तै, सप्तकोशी डेभलपमेण्ट बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक पटक कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको र उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लि. ले २०८० साउनदेखि असोजसम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेकोले संस्थालाई १२ हजार ८४६ रुपैयाँ नगद जरिवाना गराएको उल्लेख गरेको छ ।

यस्तै, नारायणी डेभलपमेण्ट बैंकले कर्जा–निक्षेप अनुपात २०८० साउनमा पहिलो पटक र भदौमा दोश्रो पटक तोकिएको अधिकतम ९० प्रतिशतको सीमाभन्दा बढी रहेको पाइएकोले २ लाख ४१ हजार ९२४ रुपैयाँ हर्जाना लगाइएको छ ।

प्रोगे्रसिभ फाइनान्स लि. स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गर्दाको बखत नै कर्जा पूर्णरुपले सुरक्षित हुने सुनिश्चित गर्नुपर्नेमा सामान्यतः बैकिङ्ग क्षेत्रमा चलनचल्तीमा नरहेको धितो मूल्याङ्कन प्रकिया अपनाई जोखिमपूर्ण तवरले कर्जा प्रवाह गर्ने निर्णय गरेको पाइएको र पारिपासु सम्झौता अनुसार सम्बन्धित मालपोत कार्यालयमा धितो सम्पत्ति उपर सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानीलाई दृष्टिबन्धक मार्फत् सुनिश्चित नगरेसम्म कर्जा पूर्णरुपमा सुरक्षित नरहेकोले त्यस्तो जोखिमपूर्ण लगानीको निर्णयमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ ।

गुडविल फाइनान्स लि. स्थलगत निरीक्षण र विशेष निरीक्षणबाट संस्थाले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सुदपयोगिता सुनिश्चित नगरी महर्जन विजनेश एशोसियट्स प्रा.लि. लाई कर्जा प्रवाह गरेको पाइएकोले त्यस्तो कर्जा लगानीको निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ ।

गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृतले निर्देशन विपरित आर्थिक वर्ष २०७९÷८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको शेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले फाइनान्सका प्रमुख कार्यकारी अधिकृतलाइ सचेत गराई आगामी दिनमा सम्पूर्ण नियामकीय व्यवस्थाहरुको पूर्ण पालना गर्न निर्देशन दिएको उल्लेख गरेको छ ।