डिडिसीका महाप्रबन्धक झामाथि भएको दुर्व्यवहारप्रति डेरी एसोसिएसनको आपत्ति


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले दुग्ध विकास संस्थान(डिडिसी) महाप्रबन्धक सञ्जिव झामाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले आज विज्ञप्ति जारी गर्दै दुग्ध विकास डिडिसीका महाप्रबन्धकमाथि भएको दुव्र्यवहारप्रति आपत्तिजनाक र खेदपूर्ण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,“ २०८० फल्गुन ४ गते दुग्ध विकास संस्थानको कार्यालय भित्र महाप्रबन्धकसँग भएको घटना आपत्तिजनक र खेदपूर्ण भएको यस नेपाल डेरी एसोसिएसन व्यक्त गर्दछ ।”

महाप्रबन्धक झामाथि मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी युवासंगठनले कार्यकक्षमै दुर्व्यवहार गर्दै कालोमोसो दलेका थिए ।

एसोसिएसनको विज्ञप्तिमा भनिएको छ,“यदि कुनै संस्थाभित्र समस्या वा बदमासी भए पनि त्यसको समाधान कानुनी प्रक्रियाबाट गरिनु पर्ने हुन्छ तर केही ब्यक्ति विशेष वा संस्थाको नामबाट भएको दुःखद् घटनाको सम्बन्धित निकायबाट न्यायपूर्ण छानबिन गरि दोषी उपर प्रचलित कानुन अनुसार सजाय होस् भन्ने नेपाल डेरी एसोसिएसन हार्दिक अपिल गर्दछ ।”

महाप्रबन्धक झाले आफूलाई एक्कासी आएका केही व्यक्तिले कालोमोसो दल्ने प्रयास गरको बताए । उक्त घटनामा आफ्नो खुट्टा फ्याक्चर भएको बताए । उनले भने,“ याे अत्यन्त निन्दनीय घटना भएको छ । घटनाका क्रममा मेरो खुट्टा फ्याक्चर भएको छ अहिले म आराम गरिरहेको छु । ”