‘आर्थिक संकटको समाधान गर्न नयाँ शैलीको रिफर्म आवश्यक छ’


काठमाडौँ । महिला आर्थिक पत्रकार संघको आयोजनामा काठमाडौँमा सुरू भएको नीतिगत बहस कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभागका प्रा.डा.शिवराज अधिकारीले देशको आर्थिक संकटको साधान गर्न नयाँ शैलीको रिफर्म आवश्यक भएको औंल्याएका छन् ।

देशको आर्थिक संकट समाधानमा मौद्रिक नीति र बजेटरी नीतिमा कहाँनेर समस्या आयो भन्ने विषयमा समुहगत छलफल कार्यक्रममा प्रा.डा.अधिकारीले नेपालको वर्तमान आर्थिक समस्यामा पुरानो शैलीको पुनरुत्थान सम्भव नभएको बताए ।

उनले भने, “मौद्रिक नीति र बजेटरी नीतिका बीचमा तालमेलको समस्या देखिदैन । देशको आर्थिक सूचांक ठीक छ । अर्थतन्त्र चलायमान भएन ? कर्जा बढ्दा पनि ढुक्क हुने ठाउँ छैन । कर्जा वृद्धि भएर पनि त्यो कहाँ जान्छ भन्ने थाहा छैन । कर्जा वृद्धिले आर्थिक वृद्धि नहुने रहेछ भनेपछि यसले पनि योगदान गर्छ भन्ने आधार के त ?”

डा.अधिकारीले देशको अर्थतन्त्रमा नयाँ सुधारको योजना आवश्यक भएको बताए । सरकारले पनि खासै खर्च गर्न नसकेको गुनासो गरे । “नयाँ शैलीको रिफर्मको सोच चाहियो । सरकारले आफ्नो गतिशिलता देखाउन सकेन । सरकारले ऋण लिइरहेको छ । अर्कोतिर तल खर्च गर्न सकिरहेको छैन । सरकारभित्र पनि कार्यान्वयन हुने अवस्था कमजोर छ । ऋण लिन्छौं र रिजर्भ गरेर राख्छौं भने त्यसले समस्या निम्त्याउँछ,” प्रा.डा.अधिकारीले भने ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले देशभरमा रहेका ७६१ वटा सरकारले बजेटरी नीति बनाउने र त्यसको लागि मौद्रिक नीति एउटा मात्रै रहेको बताउँदै स्थानीय सरकारले पनि खर्च गर्दा देशको अवस्था हेरेर गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अभाव र अप्ठेरोकै बिचमा नयाँ अवसर खोज्नुपर्ने बताए । अध्यक्ष केसीले नेपालको बैंकिङ क्षेत्र आगामी दिनमा सुधार भएर जाने बताए । बैंकिङ क्षेत्र देशको सबैभन्दा पारदर्शी भएर अघि बढिरहेको र देक्षिण एसियाका गुणस्तरीय बैंकिङ सुविधा दिँदै आएको बताए ।