‘राजस्व छली,अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकारकाे विशेष योजना’


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित सरकार प्रस्तुत हुने बताएका छन् ।

मुलुकका आर्थिक स्रोत बढाउन र विकास, निर्माणको काममा तिब्रता दिन सरकारले सो योजनालाई कडाईका साथ पालना गराउन लागि पर्ने विशेष नीति लिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले भने,“राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुँदैछ । म यो जानकारी पनि गराउन चाहन्छु । यसबाट राजस्व प्राप्तीमा थप योगदान भई सरकारको आर्थिक स्रोत बढने कुरामा पनि हामी धेरै आशावादी भएका छौँ ।”

संघीय संसद प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको आर्थिक स्रोत बढाउन पनि राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण कडाईका लागू गर्न सरकार अघि बढेको बताए ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई द्रुतता दिइने र त्यसले थप वैदेशिक सहयोग प्राप्त हुने आधार स्तम्भ तयार हुने विश्वास समेत व्यक्त गरे । सरकारले पुँजीगत खर्च हुन नसक्नुका कारणहरुको स्पष्ट पहिचान गरेको भन्दै त्यसलाई बढाउन केही नयाँ पहल अगाडि बढाइको प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रले सङ्कट पार गरेको उल्लेख गर्दै त्यसलाई लयमा फर्काउनका लागि आफूले सम्बन्धित मन्त्रालय र विभागसँग समाधानमुखि छलफल गरिरहेको पनि दोहोर्‍याए ।