लघवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त


काठमाडौँ । लघवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार सुस्त गतिमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार लघुवित्तहरुको शाखा विस्तार ०.०६ प्रतिशतले वृद्धि भएको देखिएको हो ।

२०८० असारमा ५ हजार ७३४ रहेको शाखा संख्या २०८० को पुषमसान्तसम्म ५ हजार ७६ पुगेको छ । गत आर्थिक वर्षको पुषमा ५ हजार ७९ ओटा शाखाहरु रहेका थिए ।

आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएका थियो । चालू आर्थिक वर्षको ६ महिनामा लघुवित्तहरुको शाखा ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दै गइरहेको छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

सबैभन्दा बढी लघुवित्तको शाखा लुम्बिनी प्रदेशमा रहेको प्रतिवेदनले देखाएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत शाखाहरु रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ प्रतिशतमात्र रहेको छ । मधेश प्रदेशमा २१ प्रतिशत, कोशी प्रदेशमा १७ प्रतिशत, बागमती प्रदेशमा १५ प्रतिशत, गण्डकी प्रदेशमा ११ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९ प्रतिशत शाखाहरु रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाहरुमा सदस्य संख्या घटेर ६० लाख ३ हजार पुगेको छ गत असारमा यो संख्या ६० लाख १६ हजार रहेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।

लघुवित्तमा कर्मचारीको संख्या पनि घटेको छ । गत आर्थिक वर्षको पुषमा २३ हजार ३३३ रहेका कर्मचारी २०८० पुषमा २१ हजार ९६३ जना रहेका छन् ।