एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने


काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा फागुन ७ गते (भाेलि) देखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जानकारी गराएको छ ।

मर्मत, अपग्रेड र नयाँ सफ्टवेयर स्थापना गर्ने प्रक्रिया पूरा हुन १५ दिन लाग्ने बताइएको छ । यस समयमा सबै ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरू अस्थायी रूपमा उपलब्ध नहुने कम्पनीले जनाएकाे छ ।

पारामाउन्ट मोटर्सले यो १५ दिनको अवधिमा वैकल्पिक चार्जिङ्ग स्टेशनको प्रयोग गर्न अनुरोध गर्नुका साथै यसबाट ग्राहकवर्गमा पर्न जाने असहजता एवम् असुविधाका लागि क्षमा व्यक्त गरेको छ । यो अन्तराल आगामी दिनमा सहज सेवाहरू प्रदान गर्नका लागि आवश्यक भएको र यसले ग्राहकहरूको एमजीसँगको अनुभवलाई अझ राम्रो बनाउने कम्पनीले दाबी गरेको छ ।