बैंकिङ क्षेत्र विरूद्ध गलत अभिव्यक्ति दिने प्रति संघहरूकाे ध्यानाकर्षण


काठमाडाैँ । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ती जारी गर्दै बैंकिङ क्षेत्रलाई खलबलाउन भइरहेकाे अराजक गतिविधिहरू र विरूद्ध गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको जनाएकाे छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरेकाे हाे ।

सामाजिक संजालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना/समाचारहरुलाईआधिकारिक रुपमा लिनकाे लागि संघहरूले अनुरोध गरेका छन् ।

“अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त (Basel) लगायतलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ,” विज्ञप्तीमा भनिएकाे छ, “नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै  आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।”

बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रूपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको जनाएकाे छ ।

आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न सरकारी निकायहरुलाई आग्रह गरेकाे छ ।