विद्युतीय सवारीको आयात बढ्दो, माघमा भित्रियाे १ हजार बढी गाडी


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघ) मा ६ हजार १ सय ५९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

भन्सार विभागले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा मात्रै १ हजार ५२ युनिट विद्युतीय गाडी आयात भएका छन्।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँ विद्युतीय गाडी आयात भएका छन्। जसबाट ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ भन्सार शुल्क संकलन भएको छ।

पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ।