विद्युतीय सवारीमा ब्याट्री व्यवस्थापन ठुलो चुनौती: पोखरेल [अन्तर्वार्ता ]


पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको आयात बढेको छ । चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघ) मा ६ हजार १ सय ५९ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार १५ अर्ब ४ करोड ९ लाख ४६ हजार रुपैयाँको विद्युतीय गाडी आयात भएका छन् जसबाट ६ अर्ब ६२ करोड ८० लाख ३० हजार रुपैयाँ भन्सार शुल्क संकलन भएको छ ।

विद्युतीय गाडीको माग र आपूर्ति व्यापक रूपमा बढ्दा विद्युतीय गाडीको फाइदादेखि यसका पार्टपूर्जाको विषयमा उपभोक्ताहरूमा अवगत हुन अत्यन्तै जरुरी बन्दै गएको छ । यस विषयमा केन्द्रित रहेर टक्सारले निसान ड्याटसन सर्भिस सेन्टरका सर्भिस हेड कृष्णप्रसाद पोखरेलसँग गरेको कुराकानीः

पछिल्लो समय विद्युतीय सवारी साधनको माग र आयात बढ्दो छ । के नेपाल अब विद्युतीय सवारीको युगतर्फ गएको हो त ?

विद्युतीय सवारी साधनको पछिल्लो समय आयात र माग बढ्दा विद्युतीय युगतर्फ गएको भन्न मिल्दैन तर पाइला भने अवश्य चालेको छ । विशेषगरि कम खर्चमा राम्रो वस्तुको उपयोग गर्न पाइयो भने बजारमा अवश्य पनि माग बढ्ने नै भयो । विद्युतीय सवारी साधनको हकमा यसलाई किन्दा केही बढी खर्च भए पनि मर्मतदेखि चार्जिङको विषयमा निकै कम खर्चिलो छ ।

त्यो बाहेक इन्जिन र विद्युतीय सवारीमा धेरै किसिम्मको फरक छ भने विद्युतीय सवारीमा धेरै विशेषता पनि छन् जसले गर्दा पछिल्लो समय मानिसको चासो बढ्नु स्वभाविक हो । विद्युतीय सवारी साधनमा डिजेल र पेट्रोलबाट चल्ने गाडीमा जस्तै डिलेज पेट्रोल हाल्न नपर्ने हुन्छ जसले गर्दा उपभोक्ताको समय र पैसा दुवै बचत भएको हुन्छ । त्यस्तै विद्युतीय सवारीले ध्वनी प्रदुषण पनि गर्दैन जसले गर्दा चालकले सहज रूपमा सवारी साधन चलाउन सक्ने भयो र चालकको स्वास्थ्यलाई पनि केही हानि नहुने अवस्था छ ।

पेट्रोलियम सवारी साधनमा इन्जिनको कारणले गाडीमा भाइब्रेसन आउने गर्छ जसले गर्दा गाडी कम्पनीले रबरका सामानदेखि ड्याम्पर, माउन्टिन जस्ता धेरै सामान राखेको हुन्छ । जब कि विद्युतीय सवारी साधनमा त्यो खालको भाइब्रेसन नहुँदा त्यस्ता खालको सामानहरू पनि राख्न परेन । कतिपय विद्युतीय सवारी साधन प्रयोग गर्ने उपभोक्ताले त्यो विषयलाई ध्यान दिदैँन । तर प्र्रविधि रूपमा हेर्ने हो भने त्यो निकै कम खर्च हुने गर्छ ।

मानिसको पेट्रोलियम सवारी साधन लिएर हिँड्दा जति खर्च हुन्छ यो लिएर हिँड्दा कम खर्च भएका कारण यसको आयात बढेको हो । विश्वको केही राष्ट्रहरूमा पनि विद्युतीय सवारीको माग अत्याधि बढ्दो छ भने सम्पूर्ण रूपले इन्जिन गाडीलाई विस्थापित गरेर विद्युतीय गाडीको युग नै आउँछ भन्नु त्यति गलत देखिदैँन ।

यति धेरै माग भएको बेला भोलिका दिनमा ब्याट्रीमा समस्या आएको वा बिग्रेको खण्डमा कसरी व्यवस्थापन गर्ने ?
विद्युतीय सवारी साधनमा एकदमै महत्वपूर्ण कुरा भनेको ब्याट्री हो । मूल्यको विषयबाट हेर्दा ब्याट्रीे निकै महँगो हुने गर्छ । प्रायःजसो विद्युतीय सवारी साधन बनाउने कम्पनीहरूले एउटा ब्याट्रीको कम्तिमा आठ वर्ष वारेन्टी दिएका हुन्छन् । तर इन्जिन गाडीमा प्रयोग हुने सानो भोल्टेजको ब्याट्री साढे दुईवर्षमा फेर्नुपर्ने अवस्था आउँछ ।

जसले गर्दा विद्युतीय सवारी साधनमा प्रयोग हुने त्यस्तो खालको ब्याट्रीमा आठ वर्ष वारेन्टी दिनु भनेको सामान्य कुरा होइन । यदि यसको प्रयोग व्यवस्थति तरिकाले गरियो भने १० देखि १२ वर्षसम्म त्यो ब्याट्री प्रयोग गर्न सकिन्छ । यो विषय उपभोक्ताले सवारी साधन कसरी चार्जमा राखेका छ ? कसरी चलाएको छ ? लगायतका कुराहरूमा निर्भर हुने गर्छ तर ब्याट्री फेर्दा लाग्ने खर्च र ब्याट्री फेरेपछि पुरानो ब्याट्री व्यवस्थापन भने ठूलो चुनौतीको विषय नै हो । त्यसैले सरकारले यस्तो विषयलाई आजको दिनबाटै नै योजना बनाएर गयो भने भविष्यमा हामीले सोचे जस्तो भयावह अवस्था भने आउँदैन ।

यतिबेला विद्युतीय सवारी साधनको माग बढी भए पनि नेपाल र केही अन्य देशमा गुड्दै गर्दा अथवा चार्जमा राखेको सवारी साधनमा अगलागीका घटना पनि बढ्दो छ । त्यसले गर्दा विद्युतीय सवारी साधन जोखिम रहेछ भन्ने आम नागरिकको मानसिकतामा परेको छ । कुन अवस्थामा विद्युतीय सवारीमा अगलागी हुन्छ र यस्तो जोखिमबाट आफ्नो सवारी साधन कसरी बचाउने ?

पहिला पेट्रोलियम सवारी साधनमा धेरै आगलागी भएको घटना देखेका छौँ । अहिले त्यो विषय चर्चामा छैन किनभने विद्युतीय सवारी साधनको माग र यतिबेला बजारमा बढी देखिन्छ । उच्च तहमा पनि विद्युतीय सवारीको बहस हुँदा विद्युतीय गाडीको टायर मात्रा पन्चर भयो भने पनि ठूलो इस्यु बनाउने अवस्था छ ।

विद्युतीय सवारीमा आगो लाग्ने मुख्य कारण भनेको विद्युतीय सर्ट भएर नै हो । उसो त हाम्रो बजारमा नराम्रो खालको प्रतिस्पर्धा रहेको छ । एउटा कम्पनीको गाडीमा आगो लाग्यो भने फलानो कम्पनीको गाडीमा आगो लाग्यो हाम्रो कम्पनीको गाडी किन्नुपर्छ भन्ने अभद्र खालको प्रतिस्पर्धा भएका कारण पनि यस्ता विषयहरू चर्चामा आएका हुन् ।

त्यसकारण यस्तो जोखिमबाट बच्नको लागि अनावश्यक विद्युतीय तारहरूलाई नचलाउने, गाडीमा सलाई लाइटर जस्ता आगो लाग्ने सामाग्री नराख्ने, चार्ज गर्दा सुरक्षित तरिकाले गर्ने जस्ता विषयहरूमा ध्यान दिन आवश्यक छ । अहिलेसम्म जहाँ गाडी गुडाए, त्यहाँ आगो लाग्ने घटना त देखिएको छैन । त्यसकारण विद्युतीय सवारी साधनमा डराउने अवस्था भने छैन ।

विद्युतीय सवारी साधन भन्ने वित्तिकै आम नागरिकको सोचमा यो सवारी साधन चिल्लो र पिच बाटोमा मात्रा गुड्ने भन्ने बुझिन्छ । यसलाई पहाडको कच्ची बाटोमा अथवा हिमाली भेगमा कुदाउन कत्तिको सहज हुन्छ र यस्ता सवारी साधन त्यी बाटोमा चलाउन उपयुक्त छ कि छैन ?

नेपालको सन्र्दभमा अधिकांश सडकहरू बिग्रिएका मात्रै छन् । कतिपय राजर्मागहरू नै खोलाका बगर जस्ता छन् । त्यसले गर्दा अहिलेको अवस्थामा हाम्रो लागि चिल्ला सडकहरू रहरको विषय नै हो । उसो त गाडी भनेको बाटोमा कुदाउने हो यदि बाटो छैन भने गाडी कुदाउन पाइँदैन । यदि बाटो भएको जुनसुकै ठाउँमा राम्रो सडक छ भने विद्युतीय सवारी साधन हिमाल, पहाड, तराई जहाँ पनि कुदाउन सहजै सकिन्छ । त्यस्तै तापक्रमको हिसाबले हेर्ने हो भने आजकाल धेरै विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीहरूले भिन्नभिन्न तापक्रममा चलाउन सकिने, हिटिङ, कुलिङ प्रणालीको व्यवस्था गर्ने गरेका छन् । प्रायः कम्पनीहरूले यसलाई प्रविधिक रूपमा बलियो बनाउनको लागि सबै खालको सु्विधाहरू दिएका हुन्छ र जुन ठाउँमा पनि लिएर जान सकिन्छ त्यसले गर्दा समस्या हुँदैन र अन्य पूर्वाधार, सडक, चार्जिङ लगायतका पूर्वाधार भने हुनुपर्यो । त्यो भयोे भने हामीले यहाँबाट सोलुखुम्बु, सगरमाथासम्म यात्रा गर्न सहजै सकिन्छ ।

विद्युतीय सवारी साधनको ब्याट्रीलाई स्लो चार्जिङ, फास्ट चार्जिङ र ¥यापिड चार्जिङ गरी तीन तरिकाले चार्ज गर्न सकिन्छ । यो अवस्थामा प्रयोगकर्ताले चार्जिङ गर्दा के विषयमा ध्यान दिन आवश्यक छ ?

चार्जिङ गर्दा चालकसँग समय छ भने सकेसम्म स्लो चार्ज गर्न आवश्यक छ । जसले ब्याट्रीको हेल्थ, क्षमतालाई पनि कायम राख्नुका साथै लामो समयसम्म टिकाउँछ । विशेष रूपमा मैले देखेको कमर्सियल प्रयोजनको रूपमा प्रयोग गर्ने माइक्रोबसहरूलाई फास्ट चार्जिङ नै आवश्यकता हुन्छ ।

तर व्यक्तिगत रूपमा चल्ने सवारी साधनहरूलाई तीन किलोवाट अथाव सात किलोवाटको रेटमा त्यसलाई प्राथमिकता दियो भने ब्याट्रीको लाइफ राम्रो रहन्छ । कति घन्टा चार्ज गर्दा फूल चार्ज हुन्छ भन्ने विषय चार्जरसँग निर्भर हुन्छ । कति समयमा कति प्रतिशत चार्ज होस् भन्ने सोचिन्छ त्यो चार्जिङ क्षमतामा भर पर्छ भने चार्जिङको क्षमता कम छ भने पक्कै पनि कम समयमा चार्ज हुन्छ र चार्जिङको चार्ज क्षमता एकदमै कम छ भने समय बढी लिन्छ ।

आजभोलिको सवारीमा एउटा एप्स हुन्छ म यति घन्टामा चार्ज गर्दा यति किलोवाटको चार्ज छ, यति किलोमिटर गुडन् सकिन्छ भनेर देखाउँछ । त्यस्तै रातभरि चार्जमा राख्दा आगो लाग्ने हो कि भने डराउने अवस्था भने छैन । कम्पनीले दिएको चार्जरमा केही नहोस् भनेर केही सुविधा पनि राखेको हुन्छ । त्यो बाहेक जहाँ चार्ज गरिन्छ । विद्युत प्राधिकरणले त्यसको सुरक्षाका लागि विभिन्न प्रविधिक कुराहरू पनि जोडेको हुन्छ, त्यसले गर्दा रातभरि चार्ज गर्दा आगलागी नै हुन्छ कि भनेर डराउन भने पर्दैन ।
यद्यपि, जुनसुकै चार्जर र असुरक्षित भएको ठाउँमा भने चार्ज नगरेको नै राम्रो हो ।

विद्युतीय गाडीलाई सहि तरिकाले प्रयोग गर्ने र फास्ट चार्जरबाट गर्ने जस्ता कारणले पनि ब्याट्रीमा हानि हुन सक्छ त्यसले गर्दा विद्युतीय सवारी साधन चार्ज गर्दा सकेसम्म स्लो चार्जमा चार्ज गर्ने र चार्ज पनि छिटो छिटो नगर्ने ५० देखि ४० प्रतिशत तल आएपछि मात्रा समय निकालेर चार्ज गर्ने हो भने विद्युतीय सवारी साधनको ब्याट्री लामो समयसम्म टिकाउन सकिन्छ ।

विद्युतीय गाडीमा लामो यात्रामा निस्कँदा बिचमा नै गाडी रोकियो अब यो अवस्था के गर्ने र लामो यात्रामा निस्कँदा के के कुरामा ध्यान दिनुपर्छ ?

विद्युतीय सवारी साधनमा लामो यात्रामा निस्कदा बढी तनाव लिनु भएन मेरा गाडीमा चार्ज यति छ । यो चार्जमा यहाँसम्म पुग्छु कि पुग्दिन भनेर तनाव लिँदा सवारी चलाउने कुरामा ध्यान दिन सकिँदैन जसले गर्दा दुर्घटना हुन सक्छ ।

विद्युतीय गाडी उपयोग गर्नेले मेरो क्षमता यति छ यहाँसम्म पुग्छ भन्ने विषयमा ज्ञान हुनुपर्छ । त्यस्तै कम्पनीबाट गाडी खरिद गर्दा पनि विभिन्न विषयमा जानकार लिएर पनि किन्न आवश्यक छ । खासमा नेपालमा अहिले सडकको राम्रो व्यवस्था त छैन । तर विद्युत प्राधिकरणले चार्जिङ स्टेशन पनि ठाउँ–ठाउँमा राखेको छ । चार्जिङ ठाउँ ठाउँमा राख्नु एकदमै राम्रो कुरा हो धेरै कम्पनीका गाडीलाई त्यसले चार्ज गर्न मिल्छ ।

यद्यपि कतिपय कम्पनीका गाडीलाई विद्युत प्राधिकरणको चार्जरका पलगहरू सकेटहरू नमिलेको अवस्था पनि छ । तर प्रायः सबै जसोलाई मिल्ने खालको चार्जिङ स्टेशन भएको कारणले पनि त्यति डराउनुपर्ने अवस्था छैन ।

विद्युतीय सवारी साधनका सर्भिसिङ सेन्टरहरू नेपालमा कति छन् ?
अहिलेको अवस्थामा विद्युतीय सवारी साधान मर्मत गर्नको लागि सबै खालको जनशक्ति कम नै छ । तर अहिलेको सन्र्दभमा हरेक कम्पनीहरूले विद्युतीय सवारी आयात गर्दा प्राविधिकहरूलाई अनिवार्य तालिम दिँदै आएका छन् । मेरो विचारमा सबै कम्पनीहरूसँग त्यो तालिम पनि दिएको जस्तो लाग्छ । उसो त विद्युतीय सवारी त्यति धेरै मर्मतमा गइराख्नु नपर्ने कारणले पनि त्यति ठूलो समस्या भने हँुदैन तर एउटा राज्य निकायबाट विद्युतीय सवारीको लागि उचित मापदण्ड भने बनाउन आवश्यक छ ।

तपाईहरूको माग जस्तो सरकारले सँधै भन्सार र राजस्व छुट दिन सक्दैन । अहिले सरकारले भन्सार छुट दिएर प्रोत्साहन गरिरहेको यसै कारण पनि बिक्री बढेको हुनसक्छ । यदि भोलिको दिनमा सरकारले भन्सार राजस्व बढायो भने यसलाई कस्तो असर पर्छ ?

आगामी दिनमा सरकारले के गर्छ भन्ने सम्भावनाको कुरा भयो । तर त्यो भन्दा पनि सरकारका सम्बन्धित निकायहरूलाई यसको फाइदाका विषयहरूमा जानकारी गराउन पर्छ । विद्युतीय सवारी साधनले उपभोक्तालाई के फाइदा दिन्छ ? सरकारलाई के फाइदा दिन्छ ? र गाडी आयात गर्ने कम्पनीलाई के फाइदा दिन्छ ? भन्ने कुरा बुझन जरुरी छ । अहिलेको सन्र्दभमा हेर्दा विद्युतीय सवारी साधनमा सबै पक्षलाई फाइदा भएको देखिन्छ । किनभने एउटा पेट्रोलियम गाडी ल्याउँदा राज्यले लिने कर अत्याधिक छ ।

विद्युतीय सवारी साधनमा कर कम नै छ । एउटा पेट्रोलियम गाडी आयात गर्दा त्यो इन्जिनवाला गाडीलाई चाहिने स्पेयर पार्टस्हरू प्राप्त ल्याएर राखिसक्नुपर्छ त्यो पनि राज्यको पैसा बाहिर जाने हो र त्यो पेट्रोलियम गाडीलाई चाहिने डिजेल पेट्रोलपनि राख्नुपर्छ । तर राज्यले विद्युतीय सवारी ल्याउँदा थोरै कर लिन्छ तर अरू पैसा पछि विदेश पठाउन पर्दैन । न डिजेल पेट्रोल किन्नुपर्छ न त अन्य महग्गा पार्टस किन्नको लागि विदेश पैसा पठाउन पर्छ ।

उल्टो देशमा उत्पादन हुने विजुलीको खपत हुने भयो र राज्यलाई त्यहाँबाट दिर्घाकालिन रूपमा पैसा आउने भयो त्यसले गर्दा यसमा फाइदा नै फाइदा छ ।सरकारले यो विषयमा अध्ययन गर्न पनि आवश्यक छ राज्यलाई कुन विषयको उपयोग गर्दा फाइदा हुन्छ भन्ने विषयमा हेर्न आवश्यक छ ।

विद्युतीय गाडी दिगो राखिराख्नको लागि सरकारले र व्यापारीहरूले के गर्न सक्छन् ?

विगतमा धेरै ब्रान्डका कम्पनीहरूले केही समय आयात गर्ने, बेच्ने र बन्द गर्ने प्रवृत्ति बढ्दो थियो । जसले गर्दा ठूलो घाटा उपभोक्तालाई हुन्थ्यो । अहिलेको परिस्थिति हेर्दा त्यो खालको अवस्था आउँछ भन्ने लाग्दैन । यसलाई निरन्तरता दिनुपर्छ त्यसले गर्दा उपभोक्तालाई ढुक्क पनि हुन्छ । अफ्ठ्यारो समयमा उपभोक्ताले पनि मर्मतदेखि अन्य कुरामा साथ र सहयोग पाउँछ । व्यवसायीक हिसाबले दिर्घाकालिन रूपमा आयात भयो भने यसमा पनि फाइदा हुन्छ ।

केही केही कुरामा राज्यले पनि मापदण्ड बनाउनु पर्छ । राज्यले कुनै पनि वस्तु बाहिरबाट आयात गर्दा त्यो वस्तुको आयात कहिलेसम्म निरन्तरता दिने भन्ने मापदण्ड पनि हुनुपर्ने लाग्छ । भोलिको दिनमा अहिले आएका जति पनि विद्युतीय कम्पनीहरूका गाडी छन् । अर्को वर्षदेखि बन्द भयो भने उपभोक्ताको हालत के होला । त्यो अवस्था राम्रो होइन र अहिलेको परिस्थिति हेर्दा त्यो अवस्था आउँछ भन्ने लाग्दैन् , दिर्घाकालिन रूपमा जाने भनेर अधिकाश कम्पनीहरूले ठूलो लगानी गरेका छन् । किनभने अहिलेको आवश्यकता पनि त्यही हो ।