सेयरबजार सकरात्मक लयमा देखिएको छ : अनलराज भट्टराई


काठमाडौं । विगत लामो समयदेखि थलिएको सेयरबजार अझै सकरात्मक लय लिन सकिरहेको छैन । साढे २ वर्षको अन्तरालमा अर्बाैँ सम्पत्ति गुमाएका छन् ।

४३ खर्ब रुपैयाँसम्म पुगेको बजार पुँजिकरण अहिले ३१ खर्बमा झरेको छ । लगानीकर्ताले बजारलाई अझै विश्वास गर्न नसकेको सेयर विज्ञहरू बताउँछन् ।

२०७८ साल भदौ २ गते ३२ सयको उच्चतम अंक छोएको नेप्से परिसूचक लामो समय सम्म १८ सय देखि २ हजार अंकको आसपासमा घुमिरहेको छ ।

लामो समयदेखि थलिएको बजारको स्थिति के होला ? बजार बढ्ला कि घट्ला भन्ने चासो आम सर्वसाधारणमा रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्यता भएको सेयरबजारमा पछिल्लो समय सार्वजनिक भएको वित्तीय विवरण सन्तोषजनक नदेखिँदा बजारमा उत्साह नदेखिएको उनीहररूको भनाई छ ।

बढ्दो बजारमा नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लिएको कसिलो नीति तथा अर्थतन्त्रका सूचकहरू नकरात्मक बन्दा बजारमा निरन्तर गिरावट आएको पूर्व बैंकर तथा सेयर विश्लेषक अनलराज भट्टराई बताउँछन् ।

भट्टराई भन्छन्, “पछिल्लो समय केन्द्रिय बैंकले सेयर धितो कर्जामा केही लचकता अपनाएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले पुनः मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाहमा वृद्धि गरेका छन् । जसले गर्दा बजार अब सकरात्मक लयमा आउछ ।”

विस्तारै देशको अर्थतन्त्र पनि सुध्रिदै गएको छ, बैंकिङ क्षेत्रमा प्रशस्त मात्रामा तरलता थुप्रिएको छ, व्याजदर घट्दै गएको अवस्थामा बजार बजार अवश्य चलायमान हुने भट्टराईको भनाई छ ।

“बजार आफ्नो हिसाबले तलमाथि हुने त छदैछ।,”भट्टराई भन्छन्, “पुस मसान्त पछि सरकारले पनि चैत, वैशाखमा ठुलो खर्च गर्ने परम्परा रहेको छ, कर्जा प्रवाह राम्रो छ, बाह्य वित्तीय सन्तुलन राम्रो भएको अवस्थामा बजारलाई सबै क्षेत्रबाट सर्पोट भएको छ ।”
व्याजदर, तरलता, कर्जाप्रवाह, देशको अर्थतन्त्र सबै ठिक भएको अवस्थामा बजार चलायमान हुने सहि समय रहेको उनको भनाई छ ।

हामीकहाँ स्रोत भनेको कर्जा नै हो आय बढ्दैन कर्जाको सहजता हुने सम्भावना छ । पहिले मार्जिन प्रकृतिको सेयर कर्जामा सिलिङ थिएन तर राष्ट्रबैंकले सिलिङ तोकेपछि लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ ।

“राष्ट्रबैंकले सेयर कर्जामा लिएको नीतिले लगानीकर्तामा त्रास रहिरहने भयो।,” भट्टराई भन्छन् “अहिले ४–१२ को क्याप संसोधन गरेर १५–२० बनाएको छ । के थाहा भोली कर्जा नै नपाउने नीति पो ल्याउँछ अथवा अरु सीमा तोक्छ कि भन्ने त्रास लगानीकर्तामा रहिरहन्छ ।”

सेयरबजारलाई मुख्यतय आधारभूत कुराहरूले भन्दा पनि अन्य हल्लाहरुले प्रभावित पार्ने गर्दछ ।

भट्टराईले पछिल्लो समय सेयरबजारका सबै सूचकहरु सकरात्मक भएपनि लगानीकर्ताको मनोविज्ञानले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।