सङ्खुवा खोला जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न


काठमाडौँ । सङ्खुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको सङ्खुवा खोला जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर भएको हो ।

पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सुख्खा याम (मङ्सिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पिपिए सम्पन्न भएको हो ।

आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष घिमिरेले जानकारी दिए ।

विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो ।

यस आयोजनाको बाँध संरचना सङ्खुवासभाको सिलिचिङ गाउँपालिकामा रहेको छ भने विद्युत गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।

२०७७ सालमा विद्युतको ग्रिड कनेक्सन सम्बन्धि सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली सङ्खुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।