दुग्ध किसानको समस्या समाधान नगरेकाे भन्दै किसान संगठनहरूले सरकार विरुद्ध आन्दोलन गर्ने


काठमाडौँ । दुग्ध किसानको समस्या तत्काल समाधान नगरेकाे भन्दै एक दर्जन भन्दा बढी किसान संगठनले सरकार विरुद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।

आज (बिहिबार) दुग्ध उत्पादक किसानका समस्याबारे संयुक्त पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दग्ध सहकारी संघ नेपाल, नेपाल दुग्ध व्यवसायी संघ, दुग्ध उत्पादक किसान संघ नेपाल, याक चौरी कृषक महासंघ, समाजवादी किसान महासघ, पिछडावर्ग किसान संघ, नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, लगायतका १५ वटा संघ संगठनहरूले किसानकाे दूध विक्री नभए‌को र समयमा नै भुक्तानी नपाउँदा समस्यामा परेको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले किसानहरूले दग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा विक्री वितरणमा व्यहोर्न परेका समस्याहरू समाधान गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका बताएका छन् ।

“अर्थतन्त्रमा ठूलो टेवा पुर्याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति नल्याउँदा हामीहरू आन्दाेलन गर्न बाध्य भएका छाैँ । त्यसकारण सरकारले किसानकाे माग सम्बाेधन नगर्ने बेलासम्म हाम्राे आन्दाेलन निरन्तर चल्छ”,उनले भने ।

मुलकमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको र मुलुकको सबै ग्रामीण भेगबाट संकलन गर्न सक्दा दूधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था रहेको किसान संघ संगठनहरूकाे दाबी छ ।

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध उत्पादन क्षेत्रमा संलग्न रहेकाे र औपचारिक र अनौपचारिक रूपमा दुग्ध विक्रीवितरणबाट दैनिक दश करोडको धनरासी ग्रामीण क्षेत्रमा पुगेको जानकारी दिए । संगठनहरूले विक्री नभएको दूधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट रोक्न र नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दूधको अनिवार्य प्रयोग गर्नुपर्ने सरकारसँग माग गरेका छन् ।

नेपाल दुग्ध व्यवसायी संघका अध्यक्ष विश्वराज घिमिरेले सरकारलाई बारम्बार दुग्ध उत्पादक किसानहरुले भोग्नुपरेका समस्या बाधा व्यवधानका बारेमा ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नहुँदा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको बताए ।

लम्पी स्किन रोगको कारण पशुपालक किसानहरू ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्नु परेकाे र करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थान लगायत नीजि डेरी उद्योगहरूले किसानलाई भक्तानी नदिएकाे संगठनहरूले जनाएका छन् ।

त्यस्तै संगठनहरूले आगामी फागुन १३ गते राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गर्ने किसानहरूले जनाएका छन् । फागुन १४ गते मागहरूका बारेमा संघीय संसद् कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुससहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने किसानहरूले बताए ।

फागुन १७ गते बिहान १० देखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने जनाएका छन् । फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गर्ने र माग पुरा नभएसम्म निरन्तर जारी राख्ने उनीहरूले बताएका छन् ।