बजेट कार्यान्वन फितलो हुँदा जनपेक्षाअनुसार विकास भएनः आरजु राणा


काठमाडौँ । नेपाली काँग्रेस सांसद डा.आरजु राणा देउवाले नेपालमा बजेट कार्यान्वयन पक्ष धेरै नै कमजोर भएको बताएकी छन् ।

सोमवारको प्रतिनिधि सभामा बोल्दै उनले सरकारले बजेट कार्यान्वयनको पक्षमा विशेष ध्यान दिन आग्रह गरेकी हुन्।

उनले बजेट दिनका लागि सांसदहरू हानाथाप गर्ने तर कार्यान्वयनको पक्ष फितलो हुँदा नागरिकले खोजेको विकास पाउन नसकेको बताइन् । उनले सरकारले बजेट कसरी खर्च गर्ने ? र कसरी राम्रोसँग कार्यान्वयन गर्ने भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् ।

“कार्तिकको १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको पेमेण्ट गर्न निर्देशन पठाएको थियो । अहिले कहाँ पुग्यो भनेर सभामुखमार्फत सरकारलाई ताकेता गरिदिन आग्रह गर्दछु । आज हामी प्रि बजेटको छलफल गर्न गइरहेका छौँ, बजेटको लागि हामी सबै सांसदहरु हानाथाप गर्दछौँ,” उनले भनिन्, “मेरो क्षेत्रमा हालिदिनुस् भनेर तर दुई तीन दिन अघिको हेडलाइनमा १५ देखि २० प्रतिशत मात्रै प्रदेशमा बजेटहरू स्पेन्ट भयो भनेर । कार्यान्वयन पक्ष यति कमजोर छ, जति नै बजेट लगेपनि जनताले आफ्नो अपेक्षाअनुसार विकास पाइरहेको छैन ।”

उनले कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिले सरकारलाई दुग्ध किसानको भुक्तानी गर्न दिएको निर्देशन कहाँ पुग्यो ? भन्दै प्रश्न गरिन् ।