कर्जा निक्षेप अनुपातको नयाँ व्यवस्था लागू गरेर बैंक तथा वित्तीय संस्था बच्यो: गर्भनर अधिकारी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कर्जा निक्षेप अनुपात लागू गरेर बैंक तथा वित्तीय संस्था बचेको बताएका छन् ।

सोमबार नेपाल बैंकर्स संघले गरेको बैंकिङ क्षेत्रको तत्कालिन अवस्था कार्यक्रममा गर्भनर अधिकारीले त्यस बेलाको नीतिले अहिले बैंक तथा वित्तीय संस्थालाई राम्रो गरेको बताएका हुन् ।

“त्यस बेला कर्जा निक्षेप अनुपात लागू हुँदा तत्कालिन अवस्थामा कर्जा गइरहेको अवस्थामा एउटा रणनीतिरुपमा आएको नीति थियो । थप कर्जा नजानु पर्ने अवस्थामा हामीले हामीले कर्जा निक्षेप अनुपात ९० लागू गरेको थियौं,” उनले भने, “त्यसबेला धेरैले विरोध गर्नुभयो ९० लाई ९५ गर्ने प्रयास पनि भए । अहिले हेर्ने हो भने एन आई सी एशिया बैंकलाई कर्जा निक्षेप अनुपातले काम गर्यो ।”

कर्जा निक्षेप अनुपात ९५ बनाएको भए त्यहि खालको तरलता बोकेर नबसी अर्कै खालको व्यवस्थापनमा लाग्नु पर्ने अवस्था आउने उनले बताए ।

उनले भने, “राष्ट्र बैंकका नीतिहरु पछाडी मात्र थाहा हुन्छन् । त्यसको कारण तपाईहरुले पछाडी मात्र बुझ्नु हुन्छ । मलाई सम्झना छ त्यतिबेला कतिले लेखाउनु भयो कतिले लेख्नुभयो । आज कति महत्वपूर्ण रहेछ भनेर थाहा पाइरहनु भयो होला ।”

उनले बैंक तथा वित्तीय संस्थाले काम गरिरहेकोले ढल्न नदिने बताए । “यो कुरामा राष्ट्र बैंक प्रतिबद्ध छ । अन्तर्राष्ट्रिय अभ्यास अनुसार सबै बैंकहरुको पुँजी तलै गयो भने फेल हुन सक्छ फेल नहुने होइन । तर त्यसको असर कस्तो हो त बजारमा सिस्टममा अर्थतन्त्रमा यी सबै कुरा हेरेर हुन्छ,” उनले भने ।

अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु त्यसरी फेल हुने स्थितीमा छैन साना कुनै संस्था आए पनि त्यसको उचित व्यवस्थापन गर्ने संयन्त्र राष्ट्र बैंकसँग रहेको उनले बताए ।

उनले भने, “फेल नै भइहाल्यो भने पनि निक्षेपकर्तालाई रक्षा गर्ने संयन्त्र राष्ट्र बैंकसँग छ । बचतकर्ताको बचत राष्ट्र बैंकले नियमन गरेको संस्थामा डुब्ने अवस्था आउन दिने छैनौं । त्यसको लागि बैंक तथा वित्तीय संस्थाहरुले त्यसैगरी काम गर्दै आउनु भएको छ ।”