बैंकिङ क्षेत्र समस्यामा पर्दा सरकारको सहयोग पाएनौंः अध्यक्ष केसी


काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे ।

नेपाली बैंकहरु कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न उनले आग्रह गरेका छन् । अध्यक्ष केसीले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनैपनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे ।

सडक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको उनले बताए । उनले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गरेका छन् ।

बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्लाले भएपनि बैंकहरु पारदर्शी र सबल रहेको उनले उल्लेख गरे । उनले विश्वका विकसित मुलुकको समेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खाेजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने बताए ।

उनले सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या भएको उल्लेख गरे। —न्युज एजेन्सी नेपाल