सरकारले भुक्तानी नदिएपछि आक्रोशित किसानले सडकमै पोखे दूध, बुझाए ११ बुँदे माग पत्र


काठमाडौँ । लामाे समयदेखि भूक्तानी नपाएपछि ललितपुरका किसानले सडकमै दूध पोखेका छन्।

आज (मंगलबार) दिउँसो ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध किसानले दूध पोखेका हुन्। उनीहरूले भूक्तानी नपाएको र उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै ८० लिटर दूध सडकमा पोखेरे विरोध जनाएका हुन्।

विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ११ बुँदे माग पत्र बुझाउँदै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भूक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए।

जिल्लामा दैनिक एक लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। जसमध्ये ७० देखि ७५ हजार लिटर दूध बिक्री गर्ने गरिएको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ ।

संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटले नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रिय सरकार तथा प्रदेश सरकार सकारात्मक नेदेखिएकोले संघ र अन्य संघ संगठनहरूको एक्यवद्धता जनाउँदै उक्त आन्दोलन सुरू गरेको बताए । उनले उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे ।

दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उनले बताए। त्यस्तै आजदेखि संघले आन्देलान कार्यक्रम समेत जारी गरेको छ ।

आज (फागुन १५) गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा बिहान १०:३० बजेदेखि १२ बजेसम्म धर्ना, विरोध तथा ज्ञापन पत्र बुझाउएकाे छ ।

संघका अनुसार फागुन १७ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघ र अन्य किसान संघ संगठनहरूको सहभागितामा कान्तिलोक पथ अन्तर्गत चापागाँउ टाहाखेलमा १०:३० देखि १२ बजेसम्म चक्काजाम गर्ने छ । त्यस्तै फागुन २१ गते देखि माइतिघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन माग पूरा नभएसम्म निरन्तर सहभागि हुने अध्यक्ष सापकोटले जानकारी दिए ।