हिरो मोटरसाइकलको वारेण्टी दायित्व अब ब्यहोर्न सक्दैनौं: नेपाल जेनरल मार्केटिङ


काठमाडाैँ । नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेण्टी दायित्व अब आफूले ब्यहोर्न नसक्ने बताएको छ।

कम्पनीले हिजाे (सोमबार) एक विज्ञप्ति सार्वजिक गर्दै यस्ताे जानकारी दिएको हो। हिरो मोटोकर्पद्वारा उत्पादित मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नेपाल जेनरल मार्केटिङले उत्पादक कम्पनीको निर्देशन बमोजिम वारेण्टी सुविधा दिँदै आएको थियो।

उत्पादक कम्पनीले विगत दुई वर्षदेखि कम्पनीलाई स्पेयर पार्टस्को आपूर्ति आंशिक रूपमा गर्दै आएको र विगत एक वर्ष यता आपूर्ति बन्द नै गरेकोले वारेन्टी दायित्व आफूले ब्यहोर्न नसक्ने जनाएको हो।

हिरो मोटोकर्पले स्पेयर पार्टस्को आपूर्ति बन्द गर्दा पनि आफ्नो स्टकबाट वारेण्टी सुविधा अन्तर्गत स्पेयर पार्टस् उपलब्ध गराई आएको तर हिरो मोटोकर्पले वारेण्टी बापत नेपाल जेनरल मार्केटिङलाई भुक्तानी दिनु पर्ने करोडौं रूपैयाँ विगत दुई वर्षदेखि राेकेकाे कम्पनीले जनाएकाे छ ।

“वारेण्टी दिने दायित्व उत्पादक कम्पनीको भएता पनि कम्पनी आफैंले समस्याको समाधान गर्ने प्रयास गरिरहेकोमा मोटोकर्पले स्पेयर पार्टस्को आपूर्ति नगरेको र विगत दुई वर्षदेखि वारेण्टी क्लेमको भुक्तानी रोकी राखेकोले उत्पादक कम्पनीको वारेण्टीको दायित्व अब आफूले ब्यहोर्न नसक्ने व्यहाेरा जानकारी गराइन्छ,”कम्पनीले भनेकाे छ ।