एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने


काठमाडौँ । आजदेखि काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत्को प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै बिहीबार अर्थात् फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुनेछ। १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।

शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत् जानकारी दिएको छ। फागुन २० गते आइतबार इभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी सम्मको क्षेत्रमा विद्युत् आपूर्ति प्रणाली बन्द हुनेछ।

फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ। अन्तिम दिन फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरले जारी गरेको सुचनामा उल्लेख छ ।