सञ्चालक समितिमा अड्कियो नेप्से–३० इन्डेक्स


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरबजारमा ल्याउन लागेको ‘नेप्से–३०’ इन्डेक्स नेप्से सञ्चालक समितिमा अड्किएको छ ।

सञ्चालक समितिबाट स्विकृत हुन नसक्दा सम्पूर्ण तयारी पुरा भएको इन्डेक्स अझै अन्यौलमा परेको छ । गत साउनमै आन्तरिक परीक्षण सम्पन्न गरेको नेप्से– ३० अहिलेसम्म सञ्चालनमा आउन सकेकाे छैन ।

पछिल्लो समय नेप्सेको अध्यक्षको जिम्मेवारी पाएका शाेभाकान्त पौडेललाई नेप्से–३० बारे बुझाइरहेको नेप्सेका प्रवक्ता तथा सूचना अधिकारी मुराहरी पराजुली बताउँछन् । सञ्चालक समितिमा सेयरबजार क्षेत्रको भन्दा पनि प्रशासनिक क्षेत्रका विषयमा बढी चासो देखिने गरेको छ ।

पदाधिकारी फेरबदल नै मुख्य समस्या

नेप्से सञ्चालक समितिमा पदाधिकारी फेरबदल भइरहनु नै नेप्से–३० इन्डेक्स रोकिनुको मुख्य कारण देखिएकाे छ।

चक्रबहादुर बुढा अध्यक्ष रहेका बेला नेप्से–३० इन्डेक्स सञ्चालनका लागि तयारी सुरु भएको थियो । त्यसपछि भुपाल बराल अध्यक्ष भएर आएपछि कार्यविधि निर्माण भयो ।

बरालकै कार्यकालमा सम्पूर्ण तयारी पुरा भएर सार्वजनिकको लागि अन्तिम चरणमा रहँदा बरालको ठाउँमा शोभाकान्त पौडेल अध्यक्ष नियुक्त भए भने अन्य सञ्चालक सदस्य पनि परिर्वतन भए । राष्ट्रबैंकबाट निर्देशक अमृत दाहालको ठाउँमा हेमप्रसाद न्यौपाने आए ।

नेप्स–३० इन्डेकस सञ्चालनको लागि सम्पूर्ण आन्तरिक तयारी पुरा भएको प्रवक्ता पराजुली बताउँछन् ।“ यस विषयमा उहाँ नयाँ भएको हुनाले ‘नेप्से–३० इन्डेक्स’ सञ्चालनमा ल्याउँदा सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्ने पो कि भन्ने आशंका रहने भयो यो कुरा बुझ्नलाई समय लागेको हो,” प्रवक्ता पराजुलीले भने ।

पराजुली भन्छन् भन्छन्, “नेप्से –३० इन्डेक्स सम्बन्धी कार्यविधिहरु बनाएर धितोपत्र बोर्डबाट स्विकृत पनि भइसकेको छ । कार्यविधिअनुसार डाटा संकलन गरेर इन्डेक्स पनि बनाइसक्यौँ, परीक्षण पनि गरिसक्यौँ । अब समितिबाट स्विकृत हुन मात्रै बाँकी छ ।”

कार्यविधिमा इन्डेक्स सार्वजनिकको लागि नेप्से सञ्चालक समितिले स्विकृत दिनुपर्ने प्रावधान रहेको छ ।

स्टक एक्सचेन्जले गत वैशाख २० गते सूचना जारी गर्दै प्रस्तावित ‘नेप्से– ३०’ इन्डेक्स सञ्चालनको लागि लगानीकर्तासँग राय सुझाव मागेको थियो ।

गत साउन नयाँ इन्डेक्स नेप्से–३० को सफल परीक्षण गरेर सार्वजनिक गर्ने अवस्थामा रहे पनि आवश्यक नियमहरूको कारण सार्वजनिक गर्न नसकिएको नेप्सेका अधिकारीहरू बताउँदै आएका थिए ।

नेप्से सञ्चालक समितिले गत भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचकाङ्क (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि,२०८० पास गरिसकेको छ ।

यो कार्यविधि पास भएसँगै लामो समयसम्म अड्किएर बसेको नयाँ इन्डेक्स नेप्से ३० ल्याउन बाटो खुले पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

यतिका वर्ष सुतेको नेप्से अब जाग्न थाल्यो भनिए पनि परिर्वतन हुन नसकेको लगानीकर्ताको आरोप छ ।

नेप्सेले एउटा काम पनि समयमा सम्पन्न गर्न सक्दैन लगानीकर्ता छोटेलाल रौनियार भन्छन् “पुरानो स्टक एक्सचेन्जले केही काम गरेर, वेबसाइट पनि राम्रोसँग चल्दैन हरेक काममा ढिलासुस्ती छ भनेर आरोप लगाइरहँदा नयाँ स्टक एक्सचेन्जको कुराले बजार तात्यो, त्यहि बेलामा हामी पनि सक्रिय छौँ काम गर्दैछौँ भनेर देखाउन नेप्से–३० ल्याउने कोशिस ग¥यो ।”

“नेप्सेको काम पहिलाकै जस्तो छ, पुरानै ढर्रामा चलिरहेको छ, घोषणा गर्ने तर कार्यान्वयनमा वेवास्ता गर्ने,” उनले थपे, “त्यही भएर नै नयाँ स्टक एक्सचेन्ज ल्याउनै पर्छ भनेर आवाज उठाएका हौं ।”

के हो ? ‘नेप्से– ३०’ इन्डेक्स
नेप्से बजार पुँजीकरण भारको आधारमा गणना हुने सूचक हो भने नेप्से ३० पनि सोही आधारमा गणना हुने इन्डेक्स हो । नेप्सेले सूचीकृत कम्पनीमध्ये सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी उत्कृष्ट ३० वटा कम्पनी छनोट गरेर त्यसको आधारमा धितोपत्र बजारमा त्यसको कारोबार गति मापन गर्नेगरी ‘नेप्से ३०’ सुरु गर्न लागेको हो ।

नेप्से –३० ‘फ्रि फ्लोट’ विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यो सूचकांकमा नेप्सले दोस्रो बजारमा कारोबारमा रहेका कम्पनीमध्येबाट निश्चित मापदण्ड बनाएर छनौट गरेका प्रमुख ३० कम्पनीलाई स्थान दिइने प्रवक्ता पराजुली बताउँछन् ।

उनका अनुसार सबै साधारण सेयर मध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य सेयरलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गणना गरी आउने बजार पुँजीकरणमा आधारित रहेर यो सूचकाङ्क गणना हुने गर्छ ।

नेप्से ३० इन्डेक्सलाई हेरेर लगानीकर्ताले लगानीको योजना बनाउन सक्ने पराजुलीको भनाई छ ।

“अहिले पनि म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताहरूले यस्ता कम्पनी छनोटका लागि ठुलो अध्ययन गरिरहनु परेको छ । यदि नेप्सेले नै यस्ता कम्पनीहरू छनोट गरिदिएपछि म्युचुअल फण्डले यसैका लागि छुट्टै अध्ययन गरिरहनु पर्दैन,उनीहरूले ‘नेप्से ३०’ मा भएका कम्पनीमा लगानी गर्न सक्छन्” प्रवक्ता पराजुली भन्छन् ।

लगानीकर्ताहरु पनि ‘नेप्से ३०’ इन्डेक्स कार्यान्वयनमा आउँदा समग्र लगानीकर्ताको लागि फलदायी हुर्ने बताउँछन् ।
उक्त इन्डेक्स कार्यान्वयनमा आएसँगै लगानीकर्ता झुक्किने जोखिम कम हुनुका साथै इन्डेक्स अनुसार लगानीको रणनीति बनाउन सकिने उनिहरुको भनाई छ ।