ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना


काठमाडौँ । ब्रिटिस काउन्सिल नेपालले सातौँ ुएजुकेसन सिम्पोसियमु को आयोजना गरेको छ । सोमबार काठमाडौँमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी) को आयोजना गरिएको हो ।

समावेशी शिक्षा, कलामार्फत सृजनशील शिक्षाको मूल्याङ्कनका लागि शिक्षणका अभ्यासहरूमा प्रविधिको समायोजनलगायतका विविध विषयमा सिम्पोसियममा परिचर्चा भएका थियो।

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलहरूका बारेमा छलफल भएको थियो।

यस क्रममा सिम्पोसियममा सेन्टर फर एजुकेसन एन्ड ह्युमन रिसोर्स डेभलपमेन्टको सहकार्यमा तयार गरेका अनुसन्धान कृतिहरू ‘नेपालमा सेवारत शिक्षकका प्रशिक्षकका अभ्यास, दृष्टिकोण र पेसागत आवश्यकता’ तथा शिक्षक तालिम पाठ्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी)सार्वजनिक गरिएको थियो।

कार्यक्रमको उद्‌घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी, ब्रिटिस काउन्सिल नेपालको कन्ट्री निर्देशक शाहिदा म्याक्डोगललगायतले आ(आफ्नो धारणा राखेका थिए ।