नेप्सेमा तेस्रो सर्किट ब्रेक, सोमबारको लागि कारोबार बन्द


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार तेस्रो पटक सर्किट ब्रेक लागेको छ । सेयर मापक सूचक नेप्से परिसूचक ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार स्थगित भएको छ । आज १२ बजेर ४ मिनेट ४२ सेकेण्डमा सेयरबजार ६ प्रतिशतले बढेको छ । नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ अंकमा पुगेको छ ।

आज ११ बजेर ३ मिनेटमा नेप्से सूचक ७९ अंक अर्थात् ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट ११ बजार २४ मिनेट १५ सेकेण्डमा नेप्से सूचक ९८.६९ अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको केहि सेकेण्ड मै नेप्से सूचक ६ प्रतिशतले बढेको हो।

सोमबार नेप्सेमा ४ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका २३७ कम्पनीको ९ लाख ३४ हजार ९ सय १९ कित्ता सेयर किनबेच हुँदा ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ । आज हाइड्रो समुह सर्वाधिक ७.८६ प्रतिशत बढेको छ ।

सरकार परिर्वतन भएसँगै नेकपा एमालेसहितको सरकार बन्ने भएपछि सेयर बजारमा उछाल आएको हो । सरकारमा नयाँ गठबन्धन निर्माण भएसँगै अर्थमन्त्रालय कसको भागमा पर्ने भन्ने यकिन भइसकेको छैन ।

अर्थमन्त्रालयको जिम्मेवारी एमालेका विष्णु पौडेल वा माओवादीबाट वर्षमान पुन आउने चर्चासँगै सेयबजारमा लगानीकर्ताको उत्साह बढेको सेयरबजारका विज्ञहरु बताउँछन् ।