ग्रामीण क्षेत्रको सारथी बन्दै दोलखाको जनसचेतन सहकारी संस्था


काठमाडौँ । वि सं २०४६ सालको राजनीतिक परिवर्तनपछि सहकारी संंस्था स्थापनाको लहर नै चल्न थाल्यो । नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रकाे तीन खम्बामध्ये एक आधार स्तम्भका रूपमा स्थापित गरेपश्चात नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको बलियो प्रभाव, महत्व र सम्भावनालाई राजकीय र शासकीय तहबाट सहजतापूर्वक ग्रहण गर्न थालियो ।

एकपछि अर्को सहकारी स्थापनाको लहर चलिरहँदा सहकारीमा समस्या पनि देखापर्न थाल्यो । सरकारी व्यवस्थापनलाई थप सरल बनाउन भन्दै मुलुक संघीय संरचनामा गएसँगै सहकारी संस्थाको नियमन गर्ने कार्य तिनै तहलाई दिइयो । तर बिडम्बना संस्थाको नियमन गर्ने जिम्मेवार पाएका तहहरूले यसको वेवास्ता र सरकारले कम जनशक्ति खटाउँदा याे क्षेत्रमा नै समस्या आउन थाल्यो फलस्वरुप पछिल्लो सयम यस क्षेत्रबाट मानिसहरूको विश्वास घट्दै समेत गएकाे छ।

नेपालमा सहकारी संस्थाको लगानी घरजग्गा खरिद बिक्री, वैदेशिक रोजगार र यातायात क्षेत्रमा सीमित हुनपुगेको विवरणहरूले देखाउँछ । यस्ता क्षेत्रमा भएको लगानीले राज्यलाई उल्लेखनीय प्रतिफल प्राप्त हुँदैन ।

सहकारी विभागको तंथ्याक अनुसार सञ्चालनमा आएका ३४ हजार ५ सय सहकारी संस्थामध्ये १८ हजारभन्दा बढीले प्रत्यक्ष वित्तीय कारोबार गरेका छन् । नीति, विधि र प्रविधिको अभावमा सहकारीसँग भएको रकम राम्रोसँग परिचालन हुन सकेको छैन भने केही सहकारीले गर्दा पूरै सहकारी संञ्जाल नै बदनाम भएको छ । देशका केही ठाउँमा संचालन हुँदै आएका सहकारीहरू उद्धाहारणीय हुँदै आएका छन् भने सदस्यहरूको हितमा काम पनि गर्दै आएका छन् ।

ग्रामीण समुदायमा रहेर सञ्चालन भएका ग्रामीण भेगका सहकारीहरू नागरिकहरूको जीवनस्तर उकास्ने माध्यम बनेका छन् । त्यस्ता उदाहरणीय सहकारी मध्ये दोलखा जिल्लाकाे वैतेश्वर गाउँपालिका वडा नम्बर ५ अवस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक हो ।

सहकारीको इतिहास
२०५० साल आश्विन २२ गते स्थापित जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१औं वर्षमा प्रवेश गरेको छ । संस्थापक अध्यक्ष यज्ञराज ढुङ्गेलको अगुवाईमा २६ जना शिक्षक, २ जना कर्मचारी, २ जना व्यापारी, १ जना सामाजिक अभियान्ता र ३ जना किसानहरू गरी जम्मा ३४ जनाले स्थापना गरेको संस्थामा गत असार मसान्तरसम्म सदस्य संख्या ३७ हजार ९४३ पुगेकाे छ ।

स्थानीय जनताहरूका आर्थिक र सामाजिक स्तर अभिवृद्धि गर्ने उद्देश्यबाट प्रेरित भई स्थापित भएको संस्थाको कार्यक्षेत्र सुरूमा काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी रहेको थियो भने पछिल्लो सयम आर्थिक रूपमा र सदस्य केन्द्रित रहेर लगानी गर्दा आजको दिनमा दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिका भर सेवा केन्द्र खोलेको संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाले मुख्य कार्यालय वैतेश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी बजारमा आफ्नै ४.५ तलाको आधुनिक भवनमा निर्माण समेत गरेको छ । संस्था विविध जटिलताहरूलाई पार गर्दै स्वर्णिम भविष्य निर्माणको बाटोमा अविचलित र अविरल रूपमा अगाडि बढी रहेको संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईले बताए । “सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर अभिवृद्धि गरि समुन्नत समाजको निर्माण गर्ने लक्ष्य राखेको संस्थाले छैटौं रणनीतिक व्यवसायिक योजनाबाट “प्रविधियुक्त प्रतिस्प्रर्धी सुरक्षित वित्तीय सहकारी संस्था” को परिकल्पना गरेको छ,” उनले भने ।

सहकारीको यहि गर्विलो र ओजस्वी इतिहासलाई नै निरन्तरता दिनका लागि जनसचेतनको सञ्चालक समिति क्रियाशिल रहेको समेत जनाएकाे छ ।

यस्तो छ वित्तीय अवस्था
पछिल्लाे समय देशभरका अधिकांश सहकारीहरूले बचतकर्ताहरूकाे रकम हिनामिना गरेकाे बेलामा जनसचेतन सहकारीकाे भने गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १६ करोड ६७ लाख २४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिमा संस्थाको कुल लगानी १ अर्ब ८२ करोड २७ लाख ९८ हजार रुपैयाँ रहेको छ भने बाह्य ऋण १० करोड ५४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी संस्थाको कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार रुपैयाँ रहेको छ भने संस्थाको तरलता अनुपात १७.२१ प्रतिशत रहेको छ । यस अवधिमा संस्थाको भाका नाघेको ऋण २६ करोड ३ लाख ९१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने २४ करोड ८५ लाख ५३ हजार रुपैयाँ खर्च रहेको छ।

परम्परागत पुँजी निर्माण भन्दा आफूहरू अलग पहिचान दिदैँ राज्यको आर्थिक समृद्धिका निम्ति एउटा अभिन्न अंग बन्दै छुट्टै खालको परिचय स्थापित गर्ने रणनीति लिएर संस्था अघि बढेको अध्यक्ष चौलागाइले बताए । उनले भने, “हामी बैंक हुन चाहँदैनौँ, बैंक भन्दा फरक हुन चाहन्छौँ । साकोसको मुख्य व्यवसाय बैंकको जस्तो देखिए पनि यो बैंक भन्दा फरक छ र बैंक भन्दा फराकिलो क्षेत्रबाट समुदायलाई सेवा पुर्याउन सकिने सम्भावनाहरू छन् ।”

संस्थाले सञ्चालनमा नीति तथा कार्यविधिहरूमा परिमार्जन तथा अद्यावधिक गर्दै हाल १० वटा नीति र ३० वटा कार्यविधि निर्माण गरी सुशासन कायम राख्ने, कारोबारलाई पारदर्शी बनाउने र प्रविधियुक्त प्रतिस्पर्धी कार्यक्रमहरू सञ्चालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ । हाल संस्थाका ऋण लगानीका क्षेत्र १४ वटा रहेका छन् ।

सदस्यदेखि समाजसम्म

पछिल्लो समय अधिकांश सहकारीले बचतकर्ताको रकम घरजग्गादेखि व्यक्तिगत स्वार्थको प्रयोगमा अपचलन गरेको बेलामा जनसचेतन सहकारी भने सदस्य केन्द्रित हुदैँ सदस्यको हक हितमा नै अघि बढेको पाइएको छ ।

संस्थाले आफ्नो सदस्यको मृत्यु पश्चात उनीहरूका आश्रित परिवारलाई सामाजिक संस्कार खर्च सहयोग भनेर ५ हजार दिने गरेको छ । जस अनुरुप सामुदायिक विकास कोषबाट आर्थिक वर्ष २०७९ \८० मा जम्मा ५६ जना सदस्यहरूको मृत्यु भएकोले आश्रित परिवारलाइ २ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको संस्थाले जनाएको छ ।

संस्थाले सदस्यहरूलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिने उद्देश्यले ७५ वर्षभन्दा माथि उमेर भएका वृद्ध सदस्यहरूलाई मासिक ५०० रुपैयाँका दरले भत्ताको व्यवस्था गरेको छ । यसका साथै संस्थामा आवद्ध शेयर सदस्यहरू मध्येबाट ६५ वर्ष उमेर पुगी ७० वर्ष ननाघेका, सदस्यता लिएको ५ वर्ष पुरा भएका ६० जनालाई विभिन्न तिर्थ स्थलहरूको अवलोकन भ्रमण समेत गराउँदै आएको छ ।

संस्थाका अध्यक्ष चौलागाईँका अनुसार हरेक वर्ष संस्थामा आबद्ध सदस्य वा सदस्यका छोराछोरी मध्ये गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालयले सिफारिस गरेको आधारमा आधारभूत तहमा ५० जना, माध्यमिक (९–१०) ३० जना, माध्यमिक तह (११–१२) २० जना र क्याम्पस तह ५ जना गरी जम्मा १०५ जना विद्यार्थीहरूलाई वार्षिक रूपमा १५०० देखि ७००० सम्म छात्रवृत्ति प्रदान गरेका छ । जसअनुरूप संस्थाले आर्थिक वर्ष २०७९\०८० मा १ लाख ९४ हजार रुपैयाँ रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले संस्थाले स्वास्थ्य उपचार खर्च सहयोग कार्यक्रम समेत प्रभावकारी तरिकाले अघि बढाएको बताए ।

उनका अनुसार गम्भिर प्रकृतिका रोगहरूबाट प्रभावित शेयर सदस्यहरूलाई स्वास्थ्य उपचारमा सहयोग पुयाउने उद्देश्यले ५ वर्ष सदस्यता अवधि पुरा भएका नियमित मासिक बचतकर्ता र संस्थामा ऋण कारोबार नियमित भएका सदस्यहरू प्यारालाइसिस, मृगौला फेल, ब्रेन ट्युमर, क्यान्सर र मुटु प्रत्यारोपण गर्नुपर्ने जस्ता रोगहरूबाट ग्रसित भएमा सम्बन्धित पालिका र वडा कार्यालयको सिफारिसको आधारमा ५ हजारदेखि १० हजारसम्म स्वास्थ्य उपचार सहयोग प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९\०८० मा ९ जना सदस्यहरूले .८५ हजार रुपैँया यस शिर्षक अर्न्तगत भुक्तानी लिएको संस्थाले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७९\०८० मै वैतेश्वर अस्पतालमा उपचार गराएका १ हजार ४१८ जना सदस्यहरूलाई १२ लाख ६६ हजार रुपैँया स्वास्थ्य उपचारमा सहुलियत शिर्षकमा भुक्तानी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

डिजिटल युगमा फड्को मार्दै
नेपाललाई सन् २०२५ सालसम्म ‘डिजिटल नेपाल’ मा रूपान्तरण गर्न पूर्वाधार विकास र सूचना तथा सञ्चारले प्रविधिको प्रयोगमा जोड दिएको छ । डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी मुलुकको आर्थिक रूपान्तरण र समृद्धि प्राप्त गर्न भन्दै मन्त्रिपरिषद्ले २०७६ कात्तिक ५ मा डिजिटल नेपाल फ्रेमवर्क– २०७६ पारित गरेको थियो । फ्रेमवर्कमा एक राज्य, ८ कार्यक्षेत्र र ८० क्रियाकलाप ५ वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना समावेश छन् ।

योसँगै डिजिटल नेपालको फ्रेमवर्कमा सहकारी क्षेत्रको दर्तादेखि अनुगमनसम्म अनलाइनमार्फत गर्ने तथा सहकारीको तथ्यांकलाई व्यवस्थित गर्न भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७३ चैतदेखि सहकारी तथा गरिबी निवारणको सूचना प्रणाली– कोपोमिस पनि कार्यान्वयनमा ल्याएको थियो ।

देशभर ३० हजारको हाराहारीमा सहकारी सञ्चालनमा रहे पनि करिब १० हजार सहकारीहरूले मात्र यस प्रणालीमार्फत विवरण बुझाउने गरेका छन् । तर जनसचेतन सहकारी भने कोपोमिसमा आवद्ध भएको थुप्रै भएको संस्थाका अध्यक्ष चौलागाईँले बताए ।

सदस्यहरूलाई चुस्त, दुरुस्त र सहज तरिकाबाट सेवा प्रवाह गर्नको लागि संस्थाले आधुनिक बैंकिङ सफ्टवयेर, आधुनिक पिएबिएक्स प्रणाली, सिसि क्यामेरा र केन्द्रिकृत तथा विकेन्द्रिकृत रेकर्डिङ र व्याकअपको व्यवस्था, ई-हाजिर सफ्टवयेरको व्यवस्था, एमएल रिपोर्टिङ सफ्टवेयरको अवस्था, ऋण व्यवस्थापन सफ्टवेयर व्यवस्था, सेवाकेन्द्रहरू संयोजनका लागि आफ्नै वायरलेस ल्यान नेटवर्क जस्ता प्रविधिको प्रयोग गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।