अर्थमन्त्रीलाई पुँजीबजारको स्वागत,कारोबारको अन्तिम समयमा ९.३३ अंकले वृद्धि


काठमाडौँ । सोमवार उच्च अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार सामान्य अंकले वृद्धि भएको छ ।

पछिल्लो राजनीतिक गतिविधिले नेप्से परिसूचक लगातार तीन दिन उतारचढाव देखिएको छ । नयाँ बनेको सत्ता गठबन्धनसँगै अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने हल्लासँगै सोमवार नेप्से परिसूचक ११७.७० अंक अर्थात ६ प्रतिशतले बढेको थियो । तर सोमवार नेकपा माओवादीमा वर्षमान पुन अर्थमन्त्री बन्ने हल्लासँगै ७० अंकले गिरावट आएको थियो ।

बुधवार अर्थमन्त्री पुन हुने भएसँगै ओरालो लाग्न थालेको बजार अन्तिम समयमा ९.३३ अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ९.३३ अंक बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक बढेको छ ।

बुधवार कारोबारमा आएका ३०८ कम्पनीको ९१ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

बुधवार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक १.६८ प्रतिशत बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ ।

सामान्य अंकले बढेको नेप्से परिसूचकसँगै डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । तर यता मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य भने ९.७१ प्रतिशत घटेको छ । बुधवारको कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३३ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।