अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छः अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका हुन्।

उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने चर्चा गर्दै चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुनेगरी एउटा कार्यक्रम गर्न लागेको जानकारी गराए।

ढकालले निजी क्षेत्रका आर्थिक एजेण्डालाई सबै राजनीतिक दलले प्रतिवद्धता जनाउनुपर्ने बताएका छन्।

अध्यक्ष ढकालले भने, “हामी आग्रह गर्दछौँ, कम सेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेण्डामा यहाँहरु एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ, अरु चिजहरु, देश रह्यो भने, व्यवसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने मलाई लाग्छ त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।”

अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए।

—न्युज एजेन्सी नेपाल