अर्थतन्त्रमा नखोजिएको सूचना प्रविधिको भूमिका 


-—रणजीतकुमार पोदार—-

विश्व सूचना प्रविधिको युगमा छ । नेपाल पनि धकेलिँदै भए पनि विश्व स्तरको सूचना प्रविधि (आइटी)को बजारमा भिजिसकेको छ । यसअघि प्रयोगमा रहे पनि सन् २०२३ देखि विश्व उपभोक्तामाझ छुट्टै पहिचान बनाएको आर्टिफेसियल इन्टिलिजेन्स (एआई) ले विश्वभर आफ्नो दरिलो उपस्थिति जनाएको छ । हिजोसम्म जसरी कम्युटर दैनिक जीवनको साथी थियो, अब एआई पनि बहु–क्षेत्रमा अत्यावश्यक बन्ने गरी अगाडि बढिरहेको छ । विश्वमा विकसित प्रविधिलाई आत्मसात गर्न नेपाल र नेपालीसँग विकल्प छैन । विश्वमा विकास भएको प्रविधि उपभोग गर्ने मुलुकभन्दा पनि यसको प्रमुख हिस्सेदार नै बन्ने अवसरलाई भने हामीले प्रयोग गर्न सकेका छैनौँ ।

नेपालको सूचना र प्रविधिको अवस्था हेर्ने हो भने निकै कमजोर अवस्थाबाट गुज्रँदैे छ । यसको कारण एउटा त पछिल्लो समयको आर्थिक मन्दी पनि हो । अर्को, सरकारले यो क्षेत्रलाई गम्भीर भएर नहेर्दा पनि आइटी क्षेत्र थप व्यवस्थित हुन सकेको छैन । विगतका तथ्याङ्कहरू हेर्दा सफ्टवेयर निर्यात गरेर डलर कमाएकै छौँ । यसरी हेर्दा आइटी क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्छ । यसका लागि सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने हुन्छ । हिजोको दिनमा जसरी कृषिप्रधान देश भनेर जान्थ्याँै त्यसरी नै सूचना प्रविधि देश भनेर चिनिन सकिन्छ । 

कमजोर सरकारी नियमन, गुमिरहेको डलर

सूचना प्रविधिको क्षेत्रमा नेपालमै बसेर विश्वभरका काम भइरहेका छन् । सस्तो श्रमका कारण विश्वका कम्पनीले आइटीमा नेपालका कम्पनी र व्यक्तिलाई यस्तो अवसर दिइरहेका छन् । अर्कोतिर नेपालको जनशक्ति विश्वभरका कम्पनीहरूमा भौतिक रुपमै पुगेर पनि राम्रो रोजगारी पाइरहेका छन् । यसो भइरहँदा नेपाल सरकारले के पायो त भन्ने मूल प्रश्न पनि छ । कतिपय कामहरूका बारेमा त सरकारलाई थाहा पनि छैन । यो क्षेत्रबाट डलर आएको छ तर सरकारले कसरी आएको छ भन्ने हेक्का पाएको छैन । 

सरकारले सूचना प्रविधि क्षेत्रलाई गम्भीरतापूर्वक नियमन गर्ने हो भने यहाँको रोजगारी पनि व्यवस्थित हुन्छ भने काम गर्नेले पनि व्यवस्थित रुपमा काम गर्न सक्छन् । जनशक्ति बाहिरिनबाट जोगिन्छ ।  नेपालमा विश्व स्तरका विश्वविद्यालयको पढाइ हुन्छ । 

पढ्नैका लागि जनशक्ति बाहिर जानु पर्दैन तर पनि यहाँ पढेका जनशक्तिलाई टिकाउन नसक्नु शैक्षिक संस्था र सरकारी नियमनकै कमजोरी हो । हामीले सर्टिफिकेटका लागि मात्र पढायौँ, सीप राम्रोसँग सिकाउन सकेनौँ । महँगो रकम लगानी गरेर कलेज पढेको विद्यार्थीले कलेज सक्ने वित्तिकै किन राम्रो जागिर खान पाएन छ ? सोच्ने बेला भएको छ ।

आइटी कम्पनीबाट अर्थतन्त्रका लागि ठुलो रकम सरकारलाई कर प्राप्त हुनसक्छ भने रोजगारीको पनि उत्तिकै सम्भावना बोकेको क्षेत्र हो । यसका लागि सरकारले नीतिमा परिमार्जन गर्नुपर्छ । कम्पनी दर्ता गर्नेदेखि केही वर्ष कर छुटका व्यवस्था मात्र गर्न सके विस्तारै स्वदेशको पैसा स्वदेशमै सदुपयोग हुने अवस्था सिर्जना हुन्छ । कम्पनीलाई कर छुट गर्दा तत्काललाई कम्पनीको नाफाबाट आउने कर नआउला तर कर्मचारीको तलब, खरिद–बिक्री लगायतका करका दायराबाट पनि त करमा योगदान हुन्छ । 

नेपालबाट विदेशिने जनशक्ति धेरैले आफूले पढेकोभन्दा फरक काम गरिरहेको पाइन्छ । सरकारले स्वदेशमै राख्ने नीति लियो भने आफ्नै देशमा बसेर कमाउन चाहना कसलाई हुँदैन ? नेपालमा जनशक्ति अभाव यसरी बढीरहको छ कि आज नेपालमा एउटा डिजाइनर खोज्दा पाउन गाह्रो भइसकेको छ । तीन महिना यदि त्यस्ता मान्छेलाई डिजाइनको विषयमा ज्ञान दिने हो भने उसले आफ्नो परिवार पाल्न सक्ने अवस्थामा पुग्छ । त्यसैले कामको लागि सीप सिकाउन आवश्यक छ । यस्ता धेरै कुरामा सरकारले नीतिगत रूपमा अगाडि नबढ्दा अबौँ गुमाइरहेको छ ।  

सफ्टवेयरमा सम्भावना र डिजिटल नेपालको गति 

नेपाली बजारमा चलेका सफ्टवेयरहरू विश्वस्तरका छन् । स्वदेशी सफ्टवेयरले नेपालमा मात्र हेन विदेशमा पनि उत्तिकै मन जितिरहेका छन् तर यस विषयलाई नियामकले कम बुझेको जस्तो लाग्छ । नेपालमै उपलब्ध भएसम्म नेपालकै सफ्टवेयर प्रयोग गर्नुपर्ने नीति सरकारले ल्याउने हो भने जनशक्ति बाहिरिने समस्यमा मात्र हैन विदेशी सफ्टवेयरको नाममा बाहिरिने रकम पनि जोगिन्छ । आइटी क्षेत्रमा विदेशी लगानी भिœýयाउन सहयोग गरेर सफ्टवेयर प्रवद्र्धनका लागि काम गर्नुपर्छ । नेपालमा डिजिटल नेपाल फ्रेमवर्क लागु छ तर डिजिटल प्रविधि महिना महिनामा फरक र नयाँ विकसित भइसक्ने विषय हो । यसर्थ सरकारले नीति पनि यत्तिकै समय समयमा सहजै परिवर्तन गर्न मिल्ने बनाउनुपर्छ । 

आजको दिनमा सामान्य साइबर सुरक्षाका विषयमा पनि ज्ञान नहुँदा दैनिक सयौँको सङ्ख्यामा त फेसबुक र इमेलहरू ह्याक भइरहेका छन् । प्रहरीमा साइबर सुरक्षाका उजुरी बढिरहेका छन् । सरकारले अब ढिला नगरी डिजिटल नेपाल फ्रेमवर्क र अन्य नीतिहरू बलियो र लचक भएको बनाउनुपर्ने बेला भइसकेको छ । अर्को सम्भावनाको विषय भनेको नेपाललाई आइटी हब बनाउन सकिन्छ । यहाँको सन्तुलित हावापानी र जनविद्युत्कोसमेत प्रचुर सम्भावनालाई मध्यनजर गरेर नेपालमा विश्व सूचना प्रणालीलाई सहयोग गर्ने आइटी पार्कहरू बन्ने सम्भावना छ । क्लाउड स्टोरेजका लागि ठुला ठुला कम्पनी नेपालमा स्थापना गर्न सकिन्छ । 

क्यान महासंघको भूमिका र समन्वय

सरकारले मात्र हैन निजी क्षेत्रले पनि सूचना प्रविधिका लागि आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ । हामीले क्यान महासंघबाट नीतिगत ‘लबिङ’ देखि रोजागरी सिर्जनाका लागि काम गरिरहेका छौँ । सूचना प्रविधिको क्षेत्रलाई प्रवद्र्धन गर्न यस क्षेत्रको छाता सङ्गठनका हैसियतले सन् १९९२ देखि नै लागिरहेका छौँ । सरकारसम्म निजी क्षेत्रका समस्याहरू पुर्‍याउने काम गर्दै आएका छौँ । केही कुरा सामाधान भएर आएका छन् तर पर्याप्त भएका छैनन् । महासंघले सरकारसँग ‘फिनिसिङ स्कुल’ देखि आइटी क्षेत्रमा सीप, तालिमका विषयमा आवाज उठाएको छ । यो विषयमा सरकारले पनि सकारात्मक रुपमा लिएको छ । कुनै सफ्टवेयर कम्पनीमा ५० जना मान्छे तीन महिनापछि चाहिएको छ भनेपछि ‘फिनिसिङ स्कुल’ ले मागेजस्तोे जनशक्ति उत्पादन गर्न सक्छ । सूचना, प्रविधि, बजारको आकार हामीसँग पनि पर्याप्त जानकारी नै छैन । यसको बजार हेर्ने हो भने ६७ अर्ब रुपैयाँका ‘आउट सोर्सिङ’ भएको देखिन्छ । तथ्याङ्क अब कत्तिको सत्य छ, त्यो आफ्नो ठाउँमा छ तर त्यसको ठुलो बजार छ । सरकारले यो क्षेत्रको लागि गर्न सकेन भन्ने अर्थ हो यो । सरकारले विभिन्न किसिम्मका सुविधाहरू दिने हो भने यो पैसाभन्दा अझै बढी हामीले भित्र्याउन सकिन्छ । यी विषयमा सरकारलाई झक्झकाउने काम गरि नै रहेका छौँ ।

क्यान इन्फोटेक

सरकारको पनि साथ रहेको र निजी क्षेत्रको पहलमा करिव तीन दशकदेखि सूचना प्रविधि प्रवर्धनका लागि क्यान इन्फोटेक गर्दै आएका छौँ । हार्डवेयरदेखि सफ्वेयरसम्मका क्षेत्रमा विश्वभर र नेपालमा विकसित प्रविधि, सीप र उत्पादनलाई हामीले इन्फोटेक मार्फत् बाहिर ल्याइरहेका छन् । माघको २५ गतेदेखि २९ गतेसम्म क्यान इन्फो टेकको २८ औँ संस्करण सम्पन्न गरिसकेर २९ औँ संस्करण आयोजना गर्दैछौँ । वर्षमा एकपल्ट आयोजना हुने मेलामा नयाँ नयाँ टेक्नोलोजी आउने छन् ।

इन्फोटेकको २९ औँ संस्करणमा हामीले थप नयाँ र फरक विषयलाई सार्वजनिक पनि गर्दैछौं । सहज रुपमा लोकेसन खोज्न मिल्ने राम लक्ष्मण इनोभेसनले निर्माण गरिरहेको एप्लिकेसन क्यान इन्फो टेकमा सार्वजनिक हुँदैछ । नेपालमै बनाइएको एआई रोबोर्ट ‘कान्छी’ क्यानमै सार्वजनिक गरिने कार्यक्रम छ । यी र यस्ता धेरै प्रविधि क्यानमार्फत् बजारमा ल्याउने तयारीमा छौँ । क्यानमा यो वर्ष ‘मेड इन नेपाल’ लाई पनि प्राथमिकतामा राखेका छौँ । नयाँ प्रविधिमा फरक आइडिया ल्याउनेलाई पनि क्यानले स्थान दिनेछ ।

(टक्सार माघ २०८० बाट)