बहुदर भ्याट प्रणालीमा जान अर्थमन्त्री पुनलाई परिसंघको सुझाव


काठमाडौँ । नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबिच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको टोलीले मन्त्री पुनलाई बधाई तथा शुभकामना दिदै मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा सुझाव दिएको हो ।

अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रले भागेको समस्याका विषयमा जानकारी गराउँदै निजी क्षेत्रको मनोबल किन खस्कियो भन्ने विषयमा स्पष्ट भई त्यहीबाट अर्थतन्त्र सुधारका लागि अगाडि बढ्नुपर्ने बताए ।

उनले भारतले अवलम्बन गरेको जीएसटी र नेपालले अवलम्बन गरेको एक दरको मूल्य अभिबृद्धि कर (भ्याट) का कारण अनाधिकृत व्यापार बढाउन सहयोग गरेको भन्दै बहुदर भ्याट प्रणालीमा जान आग्रह गरेका छन् । अध्यक्ष अग्रवालले साफ्टाका कारण कतिपय वस्तुहरुको भन्दा कच्चा पदार्थको मूल्य बढी भएकाले स्वदेशी उद्योगहरु प्रभावित भईरहेकोतर्फ ध्यानाकर्षण गराए ।

कर्पोरेट विषयमा उद्योगी व्यवसायीलाई पहिले थुन्ने अनि सुन्ने गरिएकाले व्यवसायिक वातावरण बनाउन उद्योग व्यवसायसँग सम्बन्धित कानूनहरुलाई ‘डिक्रिमिनलाइज्ड्’ गरिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मन्त्री पुनले सरकारले उद्यमी व्यवसायीलाई तर्साउने नभई प्रोत्साहन गर्ने बताए । प्रधानमन्त्रीको निर्देशन नै पहिले सुन्ने त्यसपछि मात्रै थुन्नुपर्ने अवस्थामा थुन्ने निर्देशन गृहमन्त्रीसमेतलाई दिएको भन्दै निजी क्षेत्रलाई अगाडि बढाएरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग नीतिगत विषयमा छलफल गर्ने, सुन्ने र लागू गर्न आफू प्रतिबद्ध रहेको बताए ।

“निजी क्षेत्र बन्यो भने रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र बलियो हुन्छ । यो सरकारले निजी क्षेत्रलाई तर्साउँदैन” मन्त्री पुनले भने ।

अर्थतन्त्र केही दबाबमा रहेको भन्दै निर्माण व्यवसायीहरुको दिनुपर्ने भुक्तानी दिइ बजारलाई चलायमान बनाउन ३०÷४० अर्ब बजारमा पैसा पठाउन लागेको समेत उनले बताए । बहुदर भ्याट प्रणालीमा जानुपर्ने परिसंघको सुझावलाई सकारात्मक रुपमा लिँदै उनले करको दरका विषयमा नभई कर नीतिका विषयमा खुला रुपमा छलफल गर्ने उल्लेख गरे ।