यातायात मन्त्रीलाई नाडाको २६ बुँदे सुझाव: लाइसेन्स वितरणमा सहज हुनुपर्ने माग


काठमाडाैँ । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले आज (विहिबार) उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी मन्त्रालयसँग सम्बद्ध विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुंदे सुझावहरू पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गरेका छन् ।

सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरू सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था, अटोमोवाइल कम्पनीको दर्ता प्रक्रिया,इम्बोस्ड नम्बर सवारी साधनमा अनिवार्य लागु गर्ने, दुईपांग्रे सबारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रूपमा लिनुपर्ने, सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने, नामसारी, करको भुक्तनी अनलाइन मार्फत गर्ने प्रणाली हुनुपर्ने सुुझाव पेश गरिएको छ ।

त्यस्तै अन्य सुुझावहरूमा जरिवानाको दायरा, सरुवा सहमती, सवारी साधन पैठारीकर्ताको लागि छुट्टै डेस्कको स्थापना, सेवाग्राहीलाई सुविधा, रसिदमा एकरूपता हुनुपर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने, लाईसेन्स वितरण सहज हुनुपर्ने, दुईपांङ्ग्रे सवारी साधनको वर्गीकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनको लागि हरियो स्टिकर दिने प्रक्रिया, पाकिङ्गस्थलको अभाव रहेका छन् ।

विशेष आर्थिक क्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चार्जिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था, सवारी चालक तालिमको व्यवस्था, अटोमोबाइल वर्कशपमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरू मन्त्री महासेठलाई नाडाले पेश गरेको छ ।

छलफलको उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरूको सि.सि.को आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरू छन् भने प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताए । सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको बर्गिकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पारकिङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरूले गर्ने बताए ।