वालिङका किसानले प्रतिलिटर दुधमा १० रुपैयाँ अनुदान पाउने


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाइ दुधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ ।

आर्थिक वर्ष २०८०\०८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवर्धन कार्यक्रम अन्तर्गत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्थाबिच सम्झौता भएको नगरप्रमुखको सचिवालयले जनाएको छ । अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैयाँ उपलब्ध गराउनेछ ।

नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुई पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाई विवरण उपलब्ध गराउने छ ।

दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा निर्धारण गरिने छ । नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकाले गाईँ पाल्ने कृषकलाई अधिकतम ५० हजार रुपैयाँ सम्म सहयोग अनुदान दिने पनि जानकारी दिए।