लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक


काठमाडौं । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ ।

अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग बिहीबार साँझ छलफल गरेको र शुक्रबार बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अर्थमन्त्रालयले भन्यो ‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल पछि दुवैपक्ष सहमति नजिक पुगेका छन्’’,।

मन्त्रालयद्वारा गठित वार्ता समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरुले शुक्रबारसम्मको समय मागेपछि बिहीबारको छलफल सकिएको हो ।

द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराईको थियो ।

त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशूल्क नपाउने व्यवस्था कडाईका साथ लागू भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ ।कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ ।

नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरुले उठाउँदै आएका छन् ।