२५ औं फ्लोरा एक्स्पो तेस्रो दिनः १७ हजारले गरे अवलोकन, ३५ लाखको कारोबार


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा तीनदेखि जारी २५औँ पुष्प मेलालाई आजै मात्र १७ हजारले अवलोकन गरेका छन् भने ३५ लाख भन्दा बढीको कारोबार भएकाे छ ।

आइतवार (भोली)सम्म चल्ने सो पुष्प मेलालाई ५० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँको कारोबार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको थियो । त्यसमध्ये तीन दिनमा ४० हजारले अवलोकन गरिसकेका छन् भने करिब ८५ लाख रुपियाँ बराबरको कारोबार गरेको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरू भएको सो मेलालाई आज कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले अलोकन गरेकी थिइन् । उनले अवलाेकनपछि पत्रकारसँग कुरा गर्दै आफूले यो मेला अवलोकन गरेपछि पुष्प क्षेत्रको सम्भावना निकै रहेको पाएको बताइन् ।

पुष्पले व्यवसायले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताइन् । पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आज आफू अवगत भएको र केही दिनमै सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी त्यसलाई समाधान गर्ने बताइन् ।

पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिदै उनले पुष्प क्षेत्रमा चुनौती छ तर त्यसका अवसरहरु पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताइन् ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । भोलिसम्म मेलालाई करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए । दुई दिनमा पचास लाखको कारोबार भएको उनले बताए।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए।