स्थिर भाडादरले फाइदा, एयरलाइन्स टिप्स


हवाई इन्धनको मूल्यमा आयल नियमले निकै फराकिलो फाइदा लिएको देखिन्छ । त्यसैगरी हवाई दस्तुर तथा पछिल्लो समय भ्याटका कारण भने हवाईभाडा केही महँगिएको छ ।

टक्सार

नेपालको आर्थिक विकाससँगै हवार्ई यात्रा थप सुलभ र सहज हुँदै गएको छ । कम लागतमा सेवा दिन नेपाली वायुसेवा कम्पनीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । पहाड र हिमाली क्षेत्र बढी भएकाले नेपालमा हवार्ई यातायात प्रभावकारी माध्याम त हो नै यसकै पृष्ठभूमिमा हवार्ई यात्रालाई किफायती बनाउन र आन्तरिक यातायातको गतीशिलतालाई प्रभावकारी बनाउन नेपाली वायु सेवा कम्पनीहरू ‘गेम–चेन्जर’को रूपमा देखा परेका छन् । 

नेपाली एयरलाइन्सहरूले हवार्ई यात्रालाई आम जनताको पहुँचमा पुर्‍याउन तथा न्यूनतम खर्च र छोटो समयमै गन्तव्यमा पुग्न चाहने यात्रुका लागि भरपर्दो विकल्पका रूपमा आफूलाई उभ्याइरहेको दाबी गर्दै आएका छन् । 

भाडादरका चुनौती 

वायुसेवा कम्पनीको लागतको आधारमा हवार्ई भाडा तयार गरिन्छ । कुनै गन्तव्यमा जाँदा कति इन्धन खर्च भएको हुन्छ, त्यसको आधारमा इन्धन शुल्क निर्धारण गरिन्छ । यस्तै यात्रुहरूले विमानस्थलको सेवाशुल्क प्रयोग गरेबापत तिर्नुपर्ने कर जोडेर हवाई भाडादर निर्धारण गर्ने गरिन्छ । आर्थिक वर्ष २०८०/०८१ देखि १३ प्रतिशत भ्याटसमेत लगाइएको छ । सरकारले हवाई भाडा न्यूनतम र अधिकतम तोकिदिने गरेको छ । अधिकतम भाडादरभन्दा बढी लिन पाइँदैन तर माग र पूर्तिको आधारमा अधिकतमभन्दा तल रहेर वायुसेवा कम्पनीहरूले भाडादर निर्धारण गरेका हुन्छन् ।

अहिलेको भाडादर २०७३ सालमा सरकारले तोकेको हो । समायानुकल भाडादर परिमार्जन गर्नुपर्ने समय भएको छ । यसका लागि हवाई भाडा पुनरावलोकन गर्न समिति बनाइसकेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञोन्द्र भुलले जानकारी दिए । उनले भने, “अहिलेको भाडादर परिमार्जन गर्नुपर्ने छ । यो २०७३ सालकै भाडादर हो । यसका लागि हामीले समिति बनाइसकेका छौँ ।”

नेपाल दक्षिण एसियामै हवाई इन्धन सबैभन्दा महँगो भएको मुलुक मानिन्छ । अन्य मुलुकको तुलनामा करिब ४५ प्रतिशतसम्म हवाई इन्धन नेपालमा महँगो भएको सूचना अधिकारी भुलको भनाइ  छ । “यती हुँदा पनि सरकार वा आयल निगमले हवाई इन्धनमा छुट दिएको छैन । धनीले मात्र जहाज चढ्छ भन्ने अवधारणा नै गलत हो,” उनले भने, “वायुसेवा कम्पनीले लिने भाडामा करिब ६० प्रतिशतसम्म भाडा त इन्धनकै पर्ने देखिन्छ । त्यसकारण हवाई इन्धनको मूल्यलाई सुगम र दुर्गममा उड्ने जहाजका लागि फरक फरक मूल्य कायम गर्नुपर्ने देखिन्छ ।”

आयल निगमले पनि हवाई इन्धनको मूल्यमा पुनरावलोकन गर्नुपर्नेमा उनको जोड छ । यसले नेपालमा अझै हवार्ई भाडा दर कम हुन सक्छ । इन्धनको प्रभाव हवार्ई भाडादरमा परे पनि यसलाई सस्तो बनाउन नेपाली एयरलाइन्स कम्पनीहरूले विभिन्न तरिका अपनाउने गरेका छन् । निःशुल्क भोजन जस्ता सेवाहरूमा खर्च कटौती गरेर वायुसेवा कम्पनीहरूले न्यूनतम दरहरूमा यात्रुलाई सेवा पुराइरहेका छन् । अनलाइन सुविधामार्फत बुकिङ, विभिन्न छुट सेवाहरू समेत वायुसेवा कम्पनीहरूले उपलब्ध गराउने गरेका छन् ।

हवार्ई यात्रा सस्तो हुँदा यात्रुहरूले आफ्नो यात्रा गन्तव्य विस्तार गर्न सक्छन् जसले पर्यटनमा टेवा पुर्‍याउछ साथै बारम्बार यात्रा गर्नलाई समेत प्रोत्साहित गर्दछ । सजिलै र सस्तो सुलभ ढङ्गले यात्रा गर्न पाउँदा व्यक्तिहरूलाई नयाँ ठाउँहरूमा जान उत्साहित बनाउँछ ।

होटल संघ नेपाल (हान)का महासचिव सजन शाक्य हवार्ई भाडा सस्तो हुँदा पर्यटकलाई फाइदा हुने बताउँछन् । “लक्जरियस पर्यटक विश्वमै मुस्किलले १० प्रतिशत हाराहारीमा मात्रै होलान् । कमभन्दा कम भाडामा आउन चाहनेहरूका नेपाल उपयुक्त हुन सक्छ र यसका लागि सबैले थप पहल गर्नुपर्छ ।”

हवाई भाडादरका प्रश्न 

नेपाल मात्र नभएर विश्वका अधिकांश मुलुकमा २०७६ माघदेखि कोभिड–१९ भाइरसको सङ्क्रमणले तीव्रता पायो । यसपछि विभिन्न श्रृङ्खलामा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले तीव्रता पायो । हवार्ई उडानमा समेत कोभिडपछि चुनौती थपियो । यसले बेला बेलामा हवार्ई भाडादरबारे प्रश्न उठ्ने गरेको छ ।

वायुसेवा सञ्चालक संघ नेपालका कोषाध्यक्ष तथा बुद्ध एयरका प्रवक्ता रूपेश जोशी अहिले हवार्ई लागत केही बढ्नुमा विभिन्न कारण भएको बताउँछन् । जोशीका अनुसार, कोरोना महामारीपछि हवार्ई भाडा केही बढ्नुको प्रमुख कारण इन्धनको मूल्यमा भएको अत्याधिक वृद्धि हो । यसबाहेक नियामक निकायले लगाउने विभिन्न किसिमका शुल्कले पनि हवार्ई भाडामा प्रभाव पारिरहेको छ ।

प्रवक्ता जोशी हवार्ई लागतलाई थप कम गर्नका लागि सरकारले इन्धनको मूल्यमा सहजीकरण गर्ने र अहिले मात्रै लागु गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरिनुपर्नेमा जोड दिन्छन् । विगतमा नलिएको यस्तो कर अहिले लिन आवश्यकता नहुने उनको बुझाइ छ । उनले भने, “यसबाहेक क्यानले पनि आफ्नो शुल्कमा सहजीकरण गरिदिएमा उडान लागत अहिलेकोभन्दा कम हुन जान्छ ।”

पछिल्लो समय हवाई लागत बढ्दा एयरलायन्स कम्पनीहरू अफ्ठेरोमा परेको समेत बताए । प्रवक्ता जोशीले भने,“सरकारले यसतर्फ ध्यान दिएमा व्यवसाय बढ्ने, आन्तरिक पर्यटनको अवस्थामा सुधार आउने तथा सर्वसाधारणको समेत पहुँचमा उडान पुग्ने अवस्था रहन्छ ।”

यती एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौला सरकारले इन्धनमा छुट दिने, सहुलियत दिने तथा कर घटाउने जस्ता काम गरी हवाई उडानमा सहजीकरण गर्नुपर्नेमा जोड दिन्छन् । उनले भने, “हवाई लागत कम भएमा यसले समग्र अर्थतन्त्रलाई नै सबल बन्न सहयोग पुग्छ । सर्वसाधारणको समेत पहुँच स्थापित गर्ने गरी सरकारले काम गर्नुपर्छ ।”

नेपालको मौसमको अवस्था र बढ्दो ट्राफिक समस्याका कारण पनि हवाई लागत बढ्ने गरेको बर्तौला बताउँछन् । उनले भने, “मौसमको अवस्था फेरबदल भइरहँदा कतिपय अवस्थामा जहाजलाई ‘डाइभर्ट’ गराउनुपर्ने हुन्छ । त्यसो गर्दा लागत बढ्न जान्छ ।”

सरकारी नीति, डलरको मूल्य बढ्नु, इन्धनको मूल्य लगायतका कारणले अफ्ठेरो भए पनि सस्तो दरमा नै सेवा दिइरहेको वायुसेवा कम्पनीहरूको दाबी छ । यसका लागि सरकारले थप प्रोत्साहन गर्नुपर्ने उनीहरूको माग छ ।

अर्थतन्त्रको विकाससँगै मानिसले खोज्ने आरामदायी यात्रा, समयको प्राथमिकताका कारण हवार्ई यात्राको प्रवृत्ति बढ्दै जाने अनुमान छ । नेपालमा बजेट एयरलाइन्सहरूले सुरक्षा मापदण्डहरूमा सम्झौता नगरी गुणस्तरीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता गरिरहेकाले पनि आम नेपाली नागरिकका लागि किफायती हवार्ई यात्रा महत्वपूर्ण विकल्प बन्न सक्ने देखिन्छ ।

स्थिर भाडादरको भूमिका 

एक दशकअघिसम्म नेपालमा हवार्ई यात्रा आजको जस्तो सजिलो थिएन । आर्थिक रूपले सम्पन्न वर्गले मात्र हवार्ई यात्रामा आवतजावत गर्न सक्ने अवस्था थियो र धेरैको धारणा पनि यही थियो । अहिले हवार्ई सेवा आमजनताको पहुँजमा पुग्न थालेको सहजै देख्न सकिन्छ । 

दशकदेखि हवार्ई यात्राको भाडादरमा अन्य क्षेत्रको तुलनामा झिनो वृद्धि भएको तथ्याङ्कले देखाउँछ । स्थिर भाडादरका कारण सबैभन्दा सुरक्षित मानिने हवार्ई यात्रा आम सर्वसाधारणले गर्न सक्ने अवस्था बनेको हवार्ई कम्पनीहरूको दाबी छ। 

अहिले हवार्ईयात्रा अनुभवका लागि भन्दा यातायातको साधनका रूपमा आम मानिसले प्रयोग गर्न थालेका छन् । वार्षिक लाखौँ यात्रुले हवार्ईसेवा प्रयोग गरिरहेको तथ्याङ्कले पनि पुष्टि गर्छ । हवार्ई भाडादर वृद्धिको ग्राफ तुलना गर्ने हो भने अन्य क्षेत्रको सूचकाङ्कको तुलनामा निकै तल रहेको देखिन्छ । दुई दशक अगाडि डलरको मूल्य, सुनको मूल्य, तेलको मूल्य, जग्गा जमिनको मूल्य साथसाथै निजामती कर्मचारीको आम्दानीसँग तुलना गर्ने हो भने हवार्ई भाडा वृद्धिको ग्राफ भने कम छ । 

“आम मानिसलाई विमानलाई सवारीसाधनका रूपमा प्रयोग गराउने जस बुद्ध एयरलाई जान्छ । हाम्रो आवश्यकताअनुसार ठुला जहाज भित्र्ययो,” बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्ण भन्छन्, ठुला एटिआर विमानमा सिट सङ्ख्या धेरै हुने साथै वातावरणमैत्रीका कारण यसको अपरेसन खर्च अन्य जहाजहरूभन्दा अलिक कम नै छ ।” प्रतिस्पर्धा गरिरहेका नेपाली हवार्ई कम्पनीहरूले पछिल्लो समय एटिआर विमानको सङ्ख्या बढाइरहेका छन् ।

(टक्सार माझ अङ्क २०८० बाट)