सेयर बजारमा निरन्तर गिरावट, के भन्छन् जानकार ?


काठमाडौं । लामो समयदेखि थला परेको सेयर बजार अझै तंग्रिन सकेको छैन । पछिल्लो समय बजारका ठुला भनिएका खेलाडीहरूकाे मनोबल पनि कमजोर बन्दै गएको छ । राजनीतिक सत्ता समीकरण परिर्वतन भएसँगै आशावादी बने पनि माहोल अपेक्षाअनुसारको छैन ।

नयाँ अर्थमन्त्री नियुक्त हुनेवित्तिकै लोकप्रियताको लागि भए पनि सेयर बजारलाई सम्बोधन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी बस्दै आएको छ‌, जसले गर्दा राजनीतिक परिर्वतनसँगै एक दुई दिन बजारमा तरंग आए पनि दिगो हुन सकेको छैन ।

पछिल्लो समय अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारको विकास र सुधार गर्ने योजनासहित सरोकारवाला निकायमा पत्रचार गरे पनि कार्यान्वयन हुनेमा विश्वस्त छैनन्, लगानीकर्ता ।

साढे दुई वर्षअघि ३२ सय अंकको उच्चतम विन्दु छोएको नेप्से परिसूचक अहिले १८ सय देखि २ हजार अंकको आसपासमै अल्झिएको छ ।

गत बिहिबार कारोबारको अन्तिम दिन सेयर मापक सूचक नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा झरेको छ ।
यो साता आइतबार सार्वजनिक विदा परेको हुनाले साताको ४ दिन साेमबार अाजदेखि मात्रै कारोबार भएकाे छ ।

साताकाे काराेबारकाे पहिलाे दिन अाज पनि नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ अंकमा झरेको छ ।

अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदा समेत पुस मसान्तपछि पनि सिजनेवल बुल आउन सकेन । केही सेयर बजारका विज्ञहरुले बैंक तथा वित्तीय प्रणालीमा पर्याप्त मात्रामा लगानीयोग्य पुँजी रहेको, मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा प्रवाह पनि बढ्दो क्रममा देखिएको हुनाले लगानीका लागि उपयुक्त समय रहेको सुझाव दिइरहेका छन् ।

तर, केही समययता बजारमा आफ्नै शैलीमा चलिरहेको छ । बढ्दो तरलता, घट्दो निक्षेपको ब्याजले पनि कुनै प्रभाव पार्न सकेको छैन, जसले गर्दा लगानीको वातावारण नभएको एक थरीको तर्क छ ।

कम्पनी नै कमजोर हुँदा नाफा कमाउन नसक्दाको प्रभाव सेयर बजारमा देखिएको एक बजार विश्लेषक बताउँछन् ।
उनका अनुसार बजार तल्लो विन्दुमा आउँदा पनि कसिलो मौद्रिक नीति अपेक्षाअनुसार खुकुलो बन्न नसक्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

“पछिल्लो समय बजारमा केही हुँदैन भन्ने सामूहिक चिन्तन हावी हुँदा राज्यप्रति भरोसायोग्य वातावारण बन्न सकेको छैन,” उनले भने ।
विगत लामो समयदेखि सेयर बजार बढ्न नसक्नुको सबैभन्दा ठुलो कारण कम्पनीको पुँजीको भार नै रहेको पुँजी बजार विज्ञ ज्योति दाहालले बताए ।

“कम्पनी पुँजीको भारले थिचिँदासम्म केही हुनेवाला छैन,” दाहालले भने, “परिमाणात्मक आम्दानी बढे पनि गुणात्मक वृद्धि देखिन्न, पुँजीको भारले थिचिरहन्छ । भाउ बढ्न पनि केही आड त चाहिएला ,त्यो आड भनेको गुणात्मक आम्दानी हो कम्पनीहरुको जुन देखिनेवाला छैन ।”

नेप्सेमा सूचिकृत भएका कम्पनीहरुको आर्थिक अवस्था कमजोर हुँदा खुम्चिएको कमाइ नै बजार घट्न बल पुगेको दाहालको भनाइ छ ।

सेयर बजारको निरन्तर घट्दो गतिले पछिल्लो समय बजारमा ठुला मानिएका लगानीकर्ताहरु पनि झस्किएका छन् ।
निक्षेपको ब्याजदर प्रत्येक महिना घटिरहँदा बजार बढ्छ कि भन्ने आशामा रहेका लगानीकर्ता नेप्सेको सूचांकको ग्राफ देखेर अन्यौलमा छन् ।

बजारमा प्रशस्त मात्रामा तरलता र ब्याजदर घटेको अवस्थामा पनि विश्वस्त बनेर लगानी गर्ने वातावारण नभएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको भनाइ छ ।

राजनीतिक सत्ता समीकरण परिर्वतनसँगै एमाले सरकारमा आएपछि गभर्नर ट्युनिङ मिल्ने र राष्ट्रबैंकको नीतिमा परिर्वतन हुने अपेक्षामा लगानीकर्ता रहेको उनको ठहर छ ।

फुल्लेलका अनुसार सरकारले ब्रोकर कमिसन घटाउने विषय, मार्जिन प्रकृतिको सेयर धितोमा लगाएको क्याप हटाउने विषय प्राथमिकतामा राख्नुपर्छ ।

सेयर बजार ससाना बजार हल्ला भन्दा पनि नीतिगत परिर्वतनको पर्खाइमै रहेको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल बताउँछिन् ।

“नवनियुक्त अर्थमन्त्रीसँग लगानीकर्ता केही आशावादी छन्,” पोख्रेलले भनिन्, “सरकारले सेयर बजारलाई सम्बोधन हुनेगरी नीति नल्याएसम्म बजारको अवस्था यस्तै रहन्छ ।”

‘बजारमा विश्वस्त भएर लगानी गर्ने वातावारण नहुँदा इन्भेष्टर्सहरु ट्रेडर बनेको उनको भनाइ छ । “अहिले बजार १८ सय देखि २ हजारको आसपासमै घुमिरहनु भनेको ट्रेडर हावी भएरै हो,” पोख्रेलले भनिन् ।

लगानीकर्ता, बजार विज्ञ तथा सेयरबजारका जानकारहरु बजार निरन्तर घटनुको मुख्य कारण नै सेयर धितो कर्जामा राष्ट्र बैंकले लगाएको सीमा रहेको बताउँछन् ।

जवसम्म यो क्याप हट्दैन तबसम्म बजार सकरात्मक बन्न नसक्ने उनीहरूको भनाइ छ ।