सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारीमा छौँः मन्त्री साह


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ०८१\०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।

सोमवार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै उनले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् । उनले मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागिपरेको बताइन् । उनले सबै जना एकाकार भएर फौजी तरिकाले कमाम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने पनि बताइन् ।

उनले भनिन्, “हामी किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा दिनरात मेहनत गरिरहेका छौँ । हुन त म मन्त्रालय सम्हालेको २० दिन जति भयो । किसानहरूलाई पहिचानका लागि किसान परिचय पत्र दिने गरी लागेका छौँ । कम्तीमा हामी यो ०८० चलिरहेको छ, ०८१\०८२ भित्रमा किसानहरूलाई पहिचान गर्नेगरी परिचय पत्र पनि दिइसक्नुपर्छ । त्यो दिने वातावरण नीतिगत रूपबाट हामीले सबै जना सहमत हुनुपर्छ ।”

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताइन् । उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् ।

उनले भनिन्, “सुन्तलाको हिसाबले पनि म केही दिनमा मन्त्रीपरिषद्बाट पास गर्ने प्रक्रियामा पनि लागेको छु । किनकि नेपालमा सुन्तला मिठो फलको रूपमा पनि छ । त्यो फल खान पनि सजिलो छ । गाडीमा बस्दाखेरी पनि अब ५÷६ जना बसेपनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरु परेन । त्यो हिसाबले राष्ट्रिय फलफूलको हिसाबले लैजाने म आफ्नो ठाउँबाट प्रयत्न गर्दै छु । त्यो तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।”

मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन् ।