निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछौँः उपप्रधानमन्त्री महासेठ


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् ।

आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले निर्माणाधिन योजनाहरू पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए ।

उनले पुल, सडक लगायतका निर्माणाधिन आयोजनाहरू पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए । उनले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए ।

उनले भने, “यो सम्पन्न गर्नलाई नै नेपाल सरकारले नयाँ प्रकारको सोच ल्याएको छ । त्यो के हो भने अहिले निर्माणाधिन योजनाहरु पहिलो चरणमा सम्पन्न गर्ने, जहाँ क्रोनिक योजनाहरू छन्, सडक, पुल जे होस्, अदालतमा छ भने त्यहाँबाट पनि कसरी छिटो गर्न लगाउने ? निर्णय जेसुकै होस् यी सबै कुरालाई ध्यानमा राखेर पहिलो चरणमा निर्माणाधीनलाई नै पूरा गर्ने, त्यसपछि मात्रै नयाँ योजनाहरूतर्फ सोच्न सक्छौँ । यो कमला पुलको जुन कुरा छ, स्वभाविक छ, यसलाई मधेसको मुख्य पुलका रूपमा लिएका छौँ ।”

निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सीमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए ।

हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरूको सामना गरेर काम अघि बढाइरहेको बताए । उनले निर्माण सामग्री समयमा नआइपुग्ने, विद्युतका पोलहरूको समस्या, स्थानीय तहको मातहतबाट निर्माण सामग्री लिनुपर्ने कारणले गर्दा केही ढिला भएको बताए ।