सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छः एमाले सांसद पन्त


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको ट्रक उद्योगनै बन्द हुने अवस्थामा पुग्दा पनि सरकारले भारतीय ट्रकलाई नेपालमा निर्वाध रूपमा सञ्चालन हुने कुरामा रोकावट नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अविलम्व भारत सरकारसँग कुरा गरेर सरकारले नेपालको ट्रक व्यवसायीहरूको हितको लागि पनि भारतीय ट्रकलाई निर्वाध रुपमा प्रवेश गर्न दिने कुरा रोक्नुपर्ने सांसद पन्तको भनाइ थियो ।

उनले नेपालको ट्रक भारतमा निर्वाध रुपमा संचालन गर्न नपाउने तर भारतीय ट्रकले नेपालमा ७२ घण्टासम्म रहने पाउने व्यवस्था कुनैपनि हिसावले राष्ट्रको हितमा नभएको जिकिर गरे ।

भारतीय ट्रकको नेपालमा खुला प्रवेशले नेपालका ट्रक व्यवसायीहरू मारमा परेको र उनीहरूको रोजगारी समेत खोसिएकोप्रति सरकार गम्भिर नभएको सांसद पन्तको आरोप समेत लगाए ।

सांसद पन्तले नेपालको ढुवानी उद्योगको जगेर्ना गर्न पनि सरकारले भारतीय ट्रकमाथि नियमन गर्नुपर्ने आवश्यकता औंल्याए ।