सिंगटी हाइड्रोले ५१ प्रतिशत लगानी गरेको हेवा खोला ए को निर्माण ५० प्रतिशत पूरा


काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको हेवा खोला ए जलविद्युत आयोजनाको निर्माण करिब ५० प्रतिशत पूरा भएको छ । आयोजनाको निर्माण गत असारबाट मात्रै सुरु भएको थियो भने आगामी माघभित्र सम्पन्न हुने अनुमान गरिएको छ ।

ह्याविटाट पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको ९.९ मेगावाट क्षमताको आयोजना पाँचथरस्थित हेवा खोलामा निर्माणाधिन छ । आयोजनाको निर्माणकार्य सुरू भएको ९ महिना नपुग्दै करीब ५० प्रतिशत निर्माण पूरा भएको आयोजना निर्देशक मधुसूदन पौड्यालले जानकारी दिए ।

आयोजनाका अधिकारीहरूका अनुसार लक्ष्य भन्दा धेरै काम भएको र कुनै प्राकृतिक विपत्ति वा अन्य काबु बाहिरको परिस्थिति सृजना नभए २०८१ माघ भित्र निर्माणकार्य सम्पन्न हुनेछ ।

आयोजना निर्देशक पौड्यालका अनुसार आयोजनाको बाँध,विद्युत गृह लगाएतका मुख्य मुख्य संरचनाहरुको निर्माणकार्य प्रगति निर्धारित लक्ष्यभन्दा बढी भइको छ ।

आयोजनामा प्रयोग हुने पेनस्टक पाईप नेपाल आईसकेको र हाल निर्माणस्थलसम्म ढुवानी भैरहेको छ । विद्युतगृहमा जडान हुने उपकरणको खरिद प्रकृया अन्तिम चरणमा पुगिसकेको निर्देशक पौड्यालको भनाइ छ ।

प्रतिमेगावाट १८ करोड ५० लाख लागतमा सम्पन्न हुने यो आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा माछापुच्छ्रे र लुम्बिनी विकास बैंकको लगानी रहेको छ ।