कृषिमा उद्यमशीलताः ‘आतिएर हैन धैर्यता बोकेर होमिनुपर्छ’


काठमाडौँ । कृषिमा उद्यमशील बन्न योजनावद्ध प्रयास र धैर्यताले मात्र सफलता हात लाग्ने सरोकारवालाले बताएका छन् । चितवनमा गत चैत १७ र १८ गते भएको प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ मा आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा उद्यमशीलताको विषयमा कृषि र सरोकारवाला नै अन्यौलमा रहेको बताएका हुन्।

नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरमले आयोजना गरेको दुई दिने सम्मेलन अन्तर्गत पहिलो दिनको पहिलो छलफल (प्यानल छलफल) का वक्ताहरू (प्यानलिष्ट) ले नेपालमा सामाजिक उद्यमशीलताका लागि नीतिदेखि उद्यमीसम्मले आवश्यक सचेतना बढाउन आवश्यक रहेको बताएका हुन्।

चितवनमा व्यवसायीक स्टे«वरी खेती गरिरहेका नेपाल एग्रोभाइन प्रालिका कार्यकारी निर्देशक सशन देवकोटाले नेपालीमा व्यापक अरूले गरेको सफल कामको कपी गरेर छिटै लाभ कमाउन खोज्ने प्रवृत्ति उद्यमशीलताको बाधक रहेको चित्रण गरे ।

पटक पटक असफल हुँदा पनि नआत्तिएर सफलताको बाटोमा रहेका देवकोटाले नेपालको नीतिगत अवरोधका कारण पनि कृषि उद्यमशीलतामा ढिलासुस्तीको अवस्था सिर्जना भएको चित्रण गरेका थिए ।

विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि पनि उनको फरक खालको सुझाव छ। उनी भन्छन्, “सफलता ढिला मात्र हात लाग् भनेर नेपाल आउनुपर्छ । अमेरिका बसेर आउनेले त्यहाँको जस्तो सिस्टम खोजेर आउनु हुने भए नआउनु भए हुन्छ ।”

नीति सही हुँदा पनि नियामक निकायमा रहने व्यक्ति परिवर्तन हुँदा पनि सरकारी कामहरु ढिला हुने र त्यसको उद्यमशीलताको सफलताको समयमा पर्ने उनको भनाइ थियाे ।

सामाजिक उद्यमशील महिला नेटवर्क (सेवा) की कायृकारी निर्देशक विष्णु कुमारी नेपाल (आचार्य) ले महिलाले चाहेमा सामाजिक र आर्थिक रूपमा परिवर्तन सम्भव रहेको बताइन्।

छलफलमा बोल्दै उनले भनिन्, “मैले कृषिलाई उद्यम बनाएको छु । शिक्षणमा लामो समय लागें, कृषिमा पछि लागेँ । हामीसँग आवद्ध कृषकले धेरै उत्पादन गर्नुहुन्छ ।”

सामाजिक उद्यमशीलताको विकासका लागि नीति निर्माणमा विशेष ध्यान विशेष ध्यान दिनुपर्ने सुझाव नेपालको छ । राज्यले महिला उद्यमशीलताका विकासको लागि सम्बोधन गर्न सकेमा उद्यमशीलतामा लाग्न प्रेरणा मिल्ने धारणा उनको छ ।

साना किसानले बजारको सुनिश्चिता नहुँदा पनि उत्पादन वढाउन नसकिएको ठम्याइ नेपालको छ । उनले भनिन्, “हामीसँग धेरै साना किसान हुनुहुन्छ । उत्पादनमा सहयोग गर्नेदेखि प्रांगारिक उत्पादनको संकलन केन्द्र, आउटलेट नहुँदा विक्रीमा चुनौति छ ।”

बाँझो जमिन सदुपयोग गर्न सरकारको सहयोग आवश्यक रहने उनको भनाइ छ। सेवा नेपाल मार्फत् दर्जनौँ महिलाले आफ्नो जीवनस्तरमा परिवर्तन गर्न सम्भव भएको अनुभव सुनाउँदै उनले निरन्तरको लगनशीलताले भने उद्यमशीलतामा सफलता हात लाग्ने बताइन्।

जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले समाजले कृषिलाई हेर्ने दृष्टिकोणमै परिवर्तन गरेर मात्र कृषिमा उद्यमशीलताको विकास गर्न सकिने बताए ।

छलफलमा बोल्दै उनले कृषि उद्यममा स्कुले बालबालिकाबाटै लगाउन सकेमा मात्र भोलिका दिनमा उद्यमी जशक्ति उत्पादन हुने बताए ।

“केटाकेटीलाई नपढेपछि हलो जोत्लास् भन्ने गलत भाष्य परिवर्तन गर्नुपर्छ”, सिग्देलले भने, “हामीले पढ्दै कमाउउदै कार्यक्रम सफलतापूर्वक लागू गरेका छौँ, निकै राम्रो नतिजा पनि आएको छ।”

सानैबाट नानुबाबुहरूलाई पढ्दै कमाउदै कार्यक्रम गरेका उनको विद्यालयको प्रशंसा हुने गरेको छ। यस विषयमा जानकारी दिँदै सिग्देले भने, “सानैबाट उद्यमी बनाउन थाल्यौँ । विद्यालयको आफ्नै फार्महरू छन्, फार्म छन्। बच्चाका आमाहरूलाई पनि बाख्रा, बंगुर पाल्ने, तरकारी खेति गर्ने लोनको व्यवस्था गर्यौँ। अहिले व्यवसायी बन्नु भएको छ ।”

छलफलमा बोल्दै अर्का वक्ता शिक्षिका तथा उद्यमी कमला पराजुली तिवारीले महिलाले उद्यमशीलता मार्फत आर्थिक र सामाजिक रूपमा सक्षम बन्दै जाने बताउँछिन्।

सरकारले नीतिगत रूपमा पनि कृषि र खाद्यलाई गम्भीर रुपमा नलिएका कारण पनि यो क्षेत्रलाई सम्मानपूर्वक नहेरिएको उनको भनाइ छ।

छलफलको मोडरेटर (संचालन) खेती अग्र्यानिककी संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक प्रकृति गौतमले गरेकी थिइन् ।