सकियो प्रथम नेशनल हर्टिकल्चर एक्स्पो ,४ दिनमा १ करोड कारोबार भएको दाबी


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा चार दिनदेखि जारी पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा चैत १६ गतेदेखि सुरू भएको मेला आज सम्पन्र भएकाे हाे ।

संघ लिएको लक्ष्यभन्दा बढीको कारोबार भएको छ । यो मेलालाई ५० हजार जनाले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने संघ अनुमान थियो । तर लक्ष्य भन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरे भने कारोबार लक्ष्यभन्दा बढी हुँदा संघ उत्साहित भएको छ ।

मेलाको (पहिलो दिन) अर्थात चैत १६ गते ४० हजारले अवलोकन गरेका थिए भने ८५ लाख रुपैयाँको कारोबार भएकाे थियाे । चैत १७ गते अर्थात (दोस्रो दिन) १५ हजारबढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै तेस्रो दिन अर्थात (चैत १८) गते २० हजारले अवलोकन गरेका थिए भने ४० लाखको कारोबार भएको थियो ।

एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा, अफिसियल स्टल ७ वटा, प्रतिष्पर्धाको स्टल ५ वटा, सहित जम्मा ९० वटा स्टल रहेका थिए ।

नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएको थियो । व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।