पीपीएको तयारीमा बुढीगण्डकी आयोजना, सार्वजनिक सुनुवाई सम्पन्न


प्रेजु खनाल

काठमाडौँ । ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो ।

आयोजनाको पावर पर्चेज एग्रीमेन्ट (उर्जा खरिद बिक्री सम्झौता) पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा फाइल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए। प्राधिकरणसँग पीपीए भएपछि आयोजना कार्यान्वयन जाने निर्देशक ढकालको भनाइ छ ।

टाईम्स ईनर्जीको लगानीमा सन् २०३० सम्ममा आयोजना पूरा भइ व्यवसायिक उत्पादनमा जाने टाईम्स ईनर्जीका अध्यक्ष दीपक मल्होत्राले बताए । प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ । परियोजनाको कुल लागत ५५ अर्ब ५७ करोड रहेकाे छ ।

मल्होत्रा सहितका व्यवसायीहरूको लगानी रहेको यस प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको विषयमा मंगलबार विद्युत विकास विभागमा सार्वजनिक सुनुवाइ भएको थियो ।

हाल जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले दाबी गरे । निजी क्षेत्रले जलविद्युतको लाईसेन्स पाउन विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको उनको भनाइ छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए । सरोकारवालाहरूले पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै नभई स्थानीयले विपत्ति भोगेको स्मरण समेत गराएका थिए ।