आइपिओ स्वीकृतिको बाटो खुल्यो, करिब २८ अर्ब रुपैयाँको आइपिओ पाइपलाइनमा


काठमाडौं । विगत पाँच महिनादेखि रोकिएका साधारण सेयर सार्वजनिक निष्काशन (आइपिओ) लाई स्वीकृतिको बाटो खुलेको छ ।

अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएसँगै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरूले आइपिओ निष्काशनको अनुमति पाउने बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए ।

अधिकारीले भने, “अर्थमन्त्रीले निर्देशन दिइसक्नुभएको छ, आवश्यक कागजात पुगेका कम्पनीहरूले आइपिओ,एफपिओ,हकप्रद, ऋणपत्र निष्काशनको लागि अनुमति पाउनेछन् ।”

आइपिओ लगायत लागि अनुमति दिने अख्तियार आफुसँग नभएको भन्दै बाेर्डकाे निमित्त अध्यक्ष समेत रहेका कार्यकारी निर्देशक अधिकारीले अब बस्ने बोर्ड सञ्चालक समितिले पाइपलाइनमा रहेका,आवश्यक कागजात पुगेका कम्पनीलाई निष्काशनको अनुमतिको निर्णय गर्ने बताए ।

केहि दिन अघि अर्थमन्त्री पुनले बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक अधिकारीलाई पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएपछि धितोपत्र बोर्डलाई स्वीकृतिको बाटो खुलेको हो।

३५ वटा कम्पनी पाइपलाइनमा
धितोपत्र बोर्डमा आइपिओ निष्काशनको लागि ३५ वटा कम्पनी पाइपलाइनमा रहेका छन् । ती मध्ये ५ वटा कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्न अनुमति मागेका छन् ।

बोर्डको तथ्यांकअनुसार ३५ वटा कम्पनीले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २ सय ३३ रुपैयाँ बराबरको आइपिओ निष्काशनको लागि आवेदन दिएका छन् ।

जसमा पहिलो चरणमा १९ कम्पनीका १६ अर्ब ४५ करोड मूल्यबराबरको नौ करोड ५६ लाख कित्ता सेयर छन। त्यस्तै बोर्डको वितरण प्रक्रियाको अन्तिम चरणमा १६ कम्पनीका ११ अर्ब ४७ करोड ७८ लाख रुपैयाँबराबरको सात करोड ४६ लाख ४७ हजार कित्ता सेयर छन ।

हकप्रद सेयरको लागि १३ कम्पनी पाइपलाइनमा
बोर्डमा हकप्रद सेयरको लागि अनुमति माग्दै १३ वटा कम्पनीहरु पाइपलाइनमा रहेका छन् ।

बोर्डमा १३ वटा कम्पनीले ११ अर्ब ३६ करोड ४५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । आवेदन दिनेमा ९ जलविद्युत समूहअन्तर्गतका कम्पनीहरु रहेका छन् भने ४ बिमा कम्पनी रहेका छन् ।

त्यस्तै ऋणपत्र (डिवेञ्चर) निस्काशनको लागि एउटा बैंक पाइपलाइनमा रहेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १० वर्षको लागि ८.५ प्रतिशत व्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट “सिटिजन्स कर्मसियल बैंक डिबेञ्चर २०९०” निष्काशनको लागि अनुमति मागेको छ ।

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको गत पुष २२ बाट औपचारिक कार्यकाल सकिनु अगाडी देखिनै बोर्डले आइपीओ निष्कासनको अनुमति दिएको थिएन ।