खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित, खाद्य स्वच्छता नियमनमा सहज हुने


काठमाडौँ। खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियोस् भनि कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले प्रश्ताव प्रश्तुत गरेकी थिइन्।

प्रश्तावलाई बहुमत सांसदहरुले समर्थन जनाइ प्रतिनिधि सभाबाट पारित गरेका हुन् । सभाको बैठकमा सभामुख देवराज घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गरे।

सभामुख घिमिरेले भने, “मान्य सदस्यहरु, हुन्छ भन्ने पक्षका मान्य सदस्यहरुको बहुमत भएकाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० पारित भएको घोषणा गर्दछु ।” यससँगै खाद्य स्वच्छतालाई नियमन गर्न कानुनी बाटो खुलेको छ ।

खाद्य श्रृंखलाको स्वच्छताका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लामो समयदेखि विधेयकका लागि प्रक्रियागत कार्य गरिरहको थियो।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले २०७७ असार २८ मा राष्ट्रिय सभामा दर्ता गरेको यो विधेयक २०७९ माघ १० गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।

खाद्य ऐन २०२३ मा रहेका कतिपय कानुनी अस्पष्टताका कारण चुनौतिपूर्ण बनिरहेको सन्दर्भमा नेपाल सरकारले खाद्य पदार्थको स्वच्छता निर्धारण गर्न विधेयक पारितसँग कानुनी आधार बलियो भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्य जोशीले बताइन्।