ग्लोबल आईएमई बैंक र जीआईजेडबिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता


काठमाडौँ । ग्लोबल आईएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेसन एक्सन फ्यासिलिटीको लगानीमा ‘दीर्घकालीन विद्युतीय यातायातका लागि नेपाल’ परियोजना सञ्चालन गरिरहेको छ ।

ग्लोबल आईएमई बैंकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने उद्देश्यले विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न लागेको हो । उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युत्‌को उपभोगमा वृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउनेछ ।

साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीसाधनहरूको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच विस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारीसाधनबाट हुने वातावरणीय प्रदूषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आईएमई बैंकले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।