रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढ्यो


काठमाडौं । पछिल्लो आठ महिनामा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पछिल्लो आठ महिनामा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेर रु.९६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।