विकास साझेदारसँग अर्थमन्त्रीको आग्रह: उत्पादकत्व बढाउने क्षेत्रमा लगानी बढाउनुहोस्


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् ।

शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपी मुलुक भित्र रोजगारी अभावले युवा पलायन भइरहेको भन्दै नेपालमा रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको बताए ।

एकातर्फ पूर्वाधार क्षेत्रमा उच्च रोजगारको आवश्यकता रहेको र अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम र अध्ययनका लागि विदेशिरहेको सन्दर्भमा मुलुक भित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गनु आवश्यक रहेको उनले बताए । सोही अनुसारको स्रोत बढाउन उनले विकास साझेदारसँग आग्रह समेत गरे ।

उनले विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने समेत विश्वास व्यक्त गरे । अर्थमन्त्री पुनले सरकार उच्च प्राथमिकता र चासो आर्थिक गतिविधिहरूलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक पुनरुत्थान हुनेमा आशा व्यक्त गरे । उनले भने, ‘राजस्व सङ्कलन न्यून भएकाले सरकारले खर्चलाई प्राथमिकता दिँदै पुँजीगत खर्च बढाउने प्रयास गरिरहेको छ । हामीले वित्त स्थायित्वलाई दिगो स्तरमा कायम राख्न आवश्यक नीतिहरू अवलम्बन गरेका छौं ।’

सार्वजनिक लगानीको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न विश्व बैंक र अन्य विकास साझेदारहरूसँग पनि नजिकबाटै काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले राष्ट्रिय परियोजना बैंकको कार्यान्वयन यसको एउटा उल्लेखनीय उदाहरण भएको दाबी गरे । उनले भने, ‘विश्व बैंकले अर्थ मन्त्रालय र अन्य सरकारी निकायको बृहत् आर्थिक पूर्वानुमान गर्न सक्ने क्षमतामा सुधार गर्न मद्दत गरिरहेको छ ।’

उनका अनुसार देशको सम्पूर्ण लगानीको इकोसिस्टमका लागि कुशल र प्रभावकारी सहजीकरण गर्न लगानी, प्रतिफल र लाभांश फिर्ता लैजाने विषयको आवश्यक संरक्षण र सुरक्षा सुनिश्चित गरिने छ ।

उनले भने, ‘यस्तो शिखर सम्मेलनले लगानी सम्बन्धी नीतिगत सुधारहरूसँगै उल्लेख्य लगानी ल्याउन र नेपाल आर्थिक अपडेट प्रतिवेदनमा पनि औंल्याइएका मध्यम अवधिको वृद्धि सम्भावनालाई अगाडी बढाउन मद्दत गर्नेछ ।’

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको समेत जानकारी गराउँदै वर्तमान आर्थिक विकासलाई मार्गदर्शन गर्ने राम्रो नीति र विनियोजनका लागि हाम्रा विकास साझेदारहरू र सम्बन्धित क्षेत्रहरूबाट रचनात्मक सुझावहरूको स्वागत गर्ने बताए । उनले भने, ‘नेपाल सरकारको तर्फबाट, म विश्व बैंकलाई अर्थतन्त्रमा प्रभाव पार्ने विभिन्न विषयहरूमा अनुसन्धान र प्रकाशनहरू सहित हाम्रो विकासका विभिन्न क्षेत्रहरूमा निरन्तर सहयोगको लागि धन्यवाद दिन चाहन्छु ।’