कृषि मेशिनरी व्यवसायी संघले बुझायो कृषिमन्त्री साहलाई १४ बुँदे ज्ञापन पत्र


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहलाई १४ बुँदे ज्ञापन पत्र पेश गरेको छ ।

आज (साेमबार) संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले मन्त्री साहलाई भेटेर रैथाने तथा हाइब्रिड विउहरूमा आत्मनिर्भर बनाउन कृषिको आधुनिकीकरण मार्फत व्यवसायीकरणको निम्ती एक पालिका एक सुविधा सम्पन्न नर्सरी घरको अवधारणा लागु हुनुपर्ने माग गरेको हाे ।

कृषि क्षेत्रको रूपान्तरण गरी उत्पादन वृद्धि, रोजगारी सृजना, आधुनिकिकरण र व्यवसायीकरण गर्न र नविनतम प्रविधिलाई कृषकको पहुँचमा पुर्याउनको लागि कृषि मैत्री नीति कार्यान्वयन गर्नको लागि माग गरेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्णा शर्माले बताए ।

संघले नेपालमा एउटा पनि कृषि यन्त्र, उपकरण तथा प्रविधिहरूको प्रदर्शन गर्ने स्थान नहुँदा खुल्ला चौरहरूमा प्रदर्शन गर्नुपर्ने बाध्यता रहेकाे बताउँदै कृषि यन्त्र, उपकरण तथा प्रविधिहरू सम्बन्धि मर्मत तथा संचालन तालिम दिनका लागी पनि आवास सहितको तालिम हलको माग गरेकाे छ । त्यस्तै कृषि यान्त्रिकरण प्रविधि कृषिको निकै ठूलो क्षेत्र भएकाले यस सम्वन्धि अनुसन्धान, विकास, प्रवद्र्धन, र बजारीकरणको लागी छुट्टै केन्द्रको आवश्यकता रहेकाे र नेपाल सरकार अन्तर्गत छुट्टै केन्द्र बनाउन मन्त्री साह समक्ष माग गरेकाे अध्यक्ष शर्माले बताए ।

संघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नकाे लागि बैंककाे व्याजदरमा अनुदानको व्यवस्था गर्नु पर्ने, कृषि उद्योग स्थापनाको पहिलो पाँच बर्षसम्म आयकरमा छुट हुनु पर्ने, कोल्डस्टोर तथा कृषि उद्योगमा विद्युत सहुलियत कायम गर्नु पर्ने, कृषि उद्योगको कच्चा पदार्थमा विधमान भन्सार दर कम गर्नु पर्ने र भन्सारमा छुट गर्नु पर्ने जस्ता माग राखेकाे छ ।

अध्यक्ष शर्माका अनुसार नेपाल सरकारले तय गरेको कृषि रणानीति २०३५ लाई पुरा गर्नका निम्ति कृषिमा यान्त्रिकरण प्रविधिको प्रवद्र्धन गर्नुपर्ने र यान्त्रिकरण प्रविधिको लागी हाल छुट्टयाउँदै आएको बजेट अपुग रहेकाले बजेट थप गर्नुपर्ने माग समेत राखेकाे बताए ।

छलफलको अन्त्यमा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले सरकारले कृषि क्षेत्रको विकासको लागि हरेक आफू मन्त्रालयमा आएदेखि पहल गर्दै आएकाे बताइन् । उनले नेपालको कृषि क्षेत्रमा जनशक्तिको अभावलाई सम्बोधन गर्न बढी भन्दा बढी बजेट तथा कार्यक्रम व्यवस्था गर्ने समेत आश्वसन दिइन् ।

त्यसैक्रममा मन्त्री साहले व्यवसायीहरूको माग सम्बोधन गर्ने र वर्तमान निरासालाई चिर्दै आशा जगाउने समेत विश्वास व्यक्त गरिन् ।

यस्ताे छ १४ बुँदे ज्ञापन पत्र: