रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून छ: अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सले मात्रै अर्थतन्त्र धान्न सक्ने सम्भावना न्यून रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकाे वार्षिक साधारण सभा एंव उद्योग वाणिज्य दिवस २०८० को उद्धघाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले सधैंभरि रेमट्यिान्सले मात्रा अर्थतन्त्र धान्न सक्ने सम्भावना नरहेकाले देशमा भएका औद्योगिक क्षेत्रको विकासमा जाेड दिन आग्रह गरेका छन् ।

ढकालले राजस्व अपेक्षित रूपमा बढ्न नसकेको बताउँदै न्यून पुँजीगत खर्च हुँदा पनि सरकार घाटामा रहनुले आगामी दिन थप जटिल हुने दाबी गरे । उनले अहिले परिवारमा आम्दानी र खर्चबिच तालमेल नमिलेको र मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको बताए ।

उनले भने,”राज्यको कानुनी अड्चन हुन भएन र वातावरणीय रूपमा दिगो हुनुपर्यो । यी सबै आधारभूत विषय पूरा गरेपछि मात्रै एउटा परियोजना वा व्यवसाय बन्छ । यति मिहिनेत गरेर तयार पारेको व्यवसाय वा परियोजना एउटा सरकारी नीति, एउटा अधिकारीको लहड अनि भीडले एकैछिनमा भताभुंग पारिदिन सक्छ ।’’

उनले अहिले विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च छ रहेको र करिब साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त बैंकहरूमा पनि तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रुपैयाँ रहेको बताए ।

“भुक्तानी सन्तुलन र चालु खातासमेत बचतमा हुँदा सकारात्मक सन्देश जान्छ । तर यस अवधिमा एक खर्ब रुपैयाँको निर्यात हुँदा ८० अर्ब रुपैयाँ त विद्यार्थीहरू विदेश जाँदा बाहिरिएको छ । निर्यात लगानी, सहायता सबै कम हुँदा पनि बाह्य क्षेत्र सबल दिनुको कारण रेमिट्यान्स हो । रेमिट्यान्स मात्रै मुलुक धान्न आधार बनेको दशकौं भइसकेको त हामीलाई विदितै छ,” उनले भने ।

अध्यक्ष ढकालले करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिदै गएको र निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरेको बताएका छन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघले राख्दै आएको द्विपक्षीय लगानी सम्झौता बीआईएको खाका मन्त्रिपरिषद्बाट पारित भएकाे भन्दै सरकार समक्ष धन्यवाद व्यक्त गर्दै अब छिट्टै सुधारका लागि तयार पारेको १२ कानुन एवं नियमावली पनि पारित हुने अपेक्षा राखेकाे बताए ।

नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्यभन्दा आन्तरिक कारण नै प्रमुख रहेकाे ढकालले बताए । उनले भने, “किनभने यस अवधिमा भारत, बंगलादेशलगायतका मुलुकको वृद्धिदर उच्च छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु वर्षमा ३.३ प्रतिशत मात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगालादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ ।”

ढकालले नेपालकाे अर्थतन्त्र सानो भएकाले रिकभर हुन पनि सजिलो रहेकाले हाम्रा रणनीतिहरू कुनै बाहिरी प्रभावभन्दा पनि नेपालकाे माटो र परिस्थिति सुहाउँदो हुनुपर्छ भन्ने धारण व्यक्त गरेका थिए ।