साझा यातायात सहकारीको १.१ मेगावाटको चार्जिङ स्टेसनको उद्घाटन


काठमाडौँ । साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो चार्जिङ स्टेसनको हिजाे (मंगलबार) उद्घाटन गरेका हुन् ।

साझा यातायातले पहिलोपटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको सुरुआत गरेको हो । चार्जिङ स्टेसनसहित मंगलबार नै ४० विद्युतीय बस पनि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

आउँदा दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागिएको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । उनले ती बसमा २६ सिट रहेका र ४५ मिनेटमा ‘फुल चार्ज’ हुने बताए ।

एकपटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २०० किलोमिटरसम्म गुड्न सक्ने उनले उल्लेख गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपालिकापछि ललितपुर महानगरको धेरै लगानी रहेको बताए ।

उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्री कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको उनले सुनाए । ४५ सिट क्षमताका सटलबस पुल्चोक, पाटन दरबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन लागिएको उनले बताए ।

साझाले ०७९ साल असोज २२ गते चीनको सीएचटीसी किनविङ ९नानजिन० अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका निम्ति सम्झौता गरेको थियो । सोहीअनुसार बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।