‘सबै राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा सङ्कल्प पत्रमा लेखाैं’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सबै राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा सङ्कल्प पत्रमा लेख्ने शाहस गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा एंव उद्योग वाणिज्य दिवस २०८० को उद्धघाटन समारोहमा बोल्दै लिङ्देनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरूको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताएका हुन् ।

उनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताउँदै सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताए । उनले भने, “ऐन, कानुन लगानीमैत्री नभए जतिसुकै ठुलो लगानी गरेर पनि लगानीकर्ताहरू नेपालमा आउँदैनन् । अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन हुन सकेका छैनन् ।”

उनले निजी क्षेत्रको मनोबल गिरेको अवस्था रहेको बताउँदै उनीहरूलाई प्रोत्साहन गर्नु अहिले आवश्यकता रहेको बताए ।